३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

न्यूयोर्कमा कृषि विकास बैंकका सीइओ गुरुङसँग मिट एण्ड ग्रीट कार्यक्रम



न्यूयोर्क । लमजुङ समाज न्यूयोर्क अमेरिकाले कृषि विकास वैक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत गोबिन्द गुरुङसँग मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेको छ । गुरुङ हाल एडभान्स लर्निङ प्रोगाममा सहभागी हुन अमेरिकामा छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख कार्यकारी अधिकृत गुरुङले विदेशी भूमिमा आफुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । गुरुङले आफु २०४२ सालमा फुपुबाट ऋण सापटी लिएर काठमाडौं छिरेको अनुभव सुनाउँदै आफन्तहरु कोही नभए पनि आफुले संघर्ष गरेर पढेर २०४९ सालमा नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए पास गरेको बताए ।

गुरुङसँग नेपाली र विदेशी गरेर विभिन्न ६ वटा बैंकमा २८ वर्ष काम गरेको अनुभव छ । उनले आफुले कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गर्दा खराब कर्जाको अनुपात ४.५२ रहेको भएपनि आफुले नेतृत्व सम्हालेदेखि गएको असार मसान्तसम्ममा ३ अर्ब ११ करोड नाफा कमाउन सफल भएको जानकारी दिए ।

कृषि विकास बैंकले १० प्रतिशत कर्जा बढाउन सफल भएको जानकारी दिंदै उनले अघिल्लो वर्षको ९ महिनाको तुलनामा यो वर्षको ९ महिनामा ९७.२२ प्रतिशतले नाफा गरेको बताए । कर्जामा पनि ब्याजदर घटाएर प्रतिस्पर्धी ब्याजदरमा असल कर्जा बढाउन सफल भएको, जसबाट नाफा बृद्धिमा सहयोग पुगेको प्रमूख कार्यकारी अधिकृत गुरुङको भनाइ छ ।”सेवा राम्रो दिएर, बचतमा ब्याजदर घटाएर र कर्जामा ब्याजदर बढाएर बैंकले यो नाफा कमाउन सफल भएको हो” उनले भने ।

उनले राष्ट्र बैकको नियम पालना गर्दै बैंकलाई दिगो बनाउनका लागि काम गरिरहेको बताए । २०४२ सालमा एसएलसी पास गरेर १ सय रुपैयाँ लिएर काठमाडौं छिरेका गुरुङले म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । गुरुङले म्यानमार सिटिजन्स बैंकमा सीईओको रुपमा १ बर्ष ६ महिना काम गरे । उनीसँग हिमालयन बैक, ग्लोबल आइएमई बैंक, मेघा बैंक र सिभिल बैंकमा काम गरेको अनुभव छ ।
मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरका रुपमा प्रवेश गरेका गुरुङले चिफ कर्पोरेट बैंकिङको जिम्मेवारी सम्हालेका थिए । डेपुटी सीईओको रुपमा सिभिल बैंकमा नियुक्त भएका गुरुङले पछि बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए । बैंकर गुरुङ गीत गाउन र नाच्न पनि उत्तिक्कै निपुण छन् । उनले गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जोगाउने अभिप्रायले गुरुङ भाषाको एल्बमसमेत निकालेका छन् ।

त्यस्तै, गुरुङ पत्नी बिमला गुरुङले नेपालमा संस्कार इङलिस स्कुल स्थापना गरी शिक्षा क्षेत्रमार्फत जीवनोपयोगी शिक्षा प्रदान गर्ने कोशिष गरेको बताइन् । विद्यालयले शिक्षा सँगै शुखावति संस्थासँगको सहकार्यमा जलवायु परिवर्तन र फोहोर व्यवस्थापन सम्बन्धी कार्य गरिरहेको उनले बताइन् । त्यस्तै, संस्कार विद्यालयले जापानी स्कुलसँग ग्लोबल एक्स्चेन्ज प्रोग्राम सञ्चालनमा ल्याएको जानकारी दिंदै अन्तर्राष्ट्रिय स्तरको सिकाइ रहेकोले सबैलाई सहयोग गरी दिनु अनुरोध गरिन् ।
समाजका अध्यक्ष गम गुरुङले, लमजुङको मस्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङ बैंकिङ क्षेत्रको प्रमूख कार्यकारी अधिकृतमा पुग्ने पहिलो गुरुङ भएकोमा गर्व लागेको बताउँदै अझै राम्रो कार्य गर्दै जाओस् भन्दै शुभकामना व्यक्त गरे । अध्यक्ष गुरुङले प्रमूख कार्यकारी अधिकृत गुरुङ दम्पत्तिलाई खादा ओढाएर सम्मान गरेका थिए । उनले व्यस्तताको बावजुद पनि समय उपलब्ध गरी उपस्थित भइ दिएकोमा गुरुङ दम्पत्तिलगायत उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रममा बिमा कुमारी दुरा, नायिका रञ्जिता गुरुङलगायत लमजुङवासी दाजुभाइ तथा दिदीबहिनी सहभागी थिए । कार्यक्रममा संस्थाका संरक्षकहरु तेज गुरुङ, तथा तुलसी गुरुङले मन्तव्य राखेको थिए । फिप्नाका पूर्व महासचिव प्रेम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  २ : ४२ बजे