६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण



एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो यसअघि लागि एडीबीको अनुमान गरेको ३.९ प्रतिशतभन्दा बढी हो । एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो प्रक्षेपण गरेको हो ।

नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भनेका छन्, “आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्नेछ ।”

एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२४) का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमता बढेकोले औद्योगिक वृद्धिलाई टेवा दिनेछ ।

पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा एडीबीको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिएको पनि एडीबीको धारणा छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ५९ बजे