२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

२०२६ का लागि डिभी बुधबारदेखि खुल्यो



अमेरिकी सरकारले उपलब्ध गराउने २०२६ का लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम लागि बुधबार साँझ (अक्टोबर २, २०२४) नेपाली समय अनुसार राति ९:४५ बजेदेखि आवेदन खुलेको छ । अमेरिकामा बसोबास गर्ने विदेशी नागरिकहरूको विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले लक्षित यस कार्यक्रममा सहभागी हुन इच्छुक र योग्य देशका व्यक्तिहरूले अमेरिकामा स्थायी बसोबासको लागि आवेदन दिन सक्छन् ।

अमेरिकी दुतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक जानकारी पोष्ट गर्दै योग्य आवेदकहरूले आफ्नो आवेदन आधिकारिक वेबसाइट dvprogram.state.gov मार्फत दर्ता गर्न सक्ने उल्लेख गरेको छ । आवेदन दिने समय बुधबार अक्टोबर २, २०२४ (नेपाली समय राति ९:४५ बजे) देखि नोभेम्बर ५, २०२४ (नेपाली समय राति १०:४५ बजे) सम्म रहेको छ । साथै एक व्यक्तिले एउटा मात्र आवेदन दिन पाउने र धेरै आवेदन दिँदा उक्त आवेदक छनौट प्रक्रियाबाट बाहिरिने उल्लेख गरिएको छ ।

डाइभर्सिटी भिसा कार्यक्रम सन् १९९० को अध्यागमन ऐनद्वारा स्थापना गरिएको थियो । यस कार्यक्रमको उद्देश्य अमेरिकामा कम मात्रामा आप्रवासी पठाउने देशका नागरिकहरूलाई त्यहाँ बसोबास गर्ने अवसर प्रदान गर्नु हो । हरेक वर्ष यस कार्यक्रम अन्तर्गत ५०,००० भिसाहरू उपलब्ध गरिन्छन् । छनौट प्रक्रिया पूर्णतः लक्की ड्र मार्फत हुन्छ । यस प्रक्रियामा सफल हुने आवेदकहरू अमेरिकाको स्थायी बासिन्दा बन्न सक्छन् ।

यस भिसा कार्यक्रम अन्तर्गत छनौट पूर्ण रुपमा लक्की ड्र मार्फत गरिन्छ। यसले गर्दा सहभागी हुने सबै देशहरूका लागि समान अवसर सुनिश्चित गरिन्छ । विगतका वर्षहरूमा यस कार्यक्रममा हरेक वर्ष करोडौं आवेदनहरू पर्ने गरेका छन् र हजारौं व्यक्तिहरू अमेरिकामा बसोबास गर्ने अवसर प्राप्त गर्न सफल भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ०३ बजे