शेर्पा दिवसको अवसरमा कोलोराडोमा आयोजित कार्यक्रममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पा आरोहीहरु सम्मानित भएका छन् ।
शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयूक्त आयोजना संम्पन्न कार्यक्रममा आरोहीहरुलाई सम्मान गरिएको हो ।
कोलोराडोका गभर्नर जरेड पोलिसले सन् २०२२ जनवरी ५ मा हरेक वर्षको जनवरी ५ लाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिने घोषणा गरेका थिए ।
उक्त बिशेष घोषणाका क्रममा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायले गरेको योगदान, दृढता, साहस र प्रेरणादायी भूमिकाको सम्मान गर्ने उद्देश्य रहेको बताइएको थियो ।
उक्त घोषणाको स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशेष कार्यक्रम आयोजना गरी आरोही शेर्पाहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा निम्न शेर्पा आरोहीहरुलाई सम्मान गरिएको थियो:
निमा नुरु शेर्पा – २४ पटक सगरमाथा आरोहण
छिरिङ दोर्जे शेर्पा – १७ पटक सगरमाथा आरोहण
दा नुरु शेर्पा – १६ पटक सगरमाथा आरोहण
तासी शेर्पा – १० पटक सगरमाथा आरोहण
निमा कर्मा शेर्पा – १० पटक सगरमाथा आरोहण
तासी छिरिङ शेर्पा – पाँच पटक सगरमाथा आरोहण
ङवाङ वाङ्छु शेर्पा – पाँच पटक सगरमाथा आरोहण
लाक्पा शेर्पा – पाँच पटक सगरमाथा आरोहण
ङवाङ पासाङ शेर्पा – तीन पटक सगरमाथा आरोहण
दावा फुर्ति शेर्पा – एक पटक सगरमाथा आरोहण
हेल्पिङ हेण्ड नेपालका अध्यक्ष तथा कोलोराडो नेपाली भाषी समुदायका अभिभावक समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा एनआरएन कोलोराडो च्याप्टरको निवर्तमान अध्यक्ष आरसी पन्तको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ/संस्थाका प्रतिनिधि, बुद्धिजीवि, व्यवसायी, सञ्चारकर्मी, कलाकार तथा नेपाली भाषीहरुको उपस्थिति थियो ।
त्यसैगरी कार्यक्रममा टुरिजम टास्कफोर्स एनआरएनए एनसीसि यूएसएका शर्वेन्द्र थापा, हाइ अल्टिच्युड धाविका मीरा राई, तेन्जी शेर्पा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा, एनआरएनए एनसीसी यूएसए बीओडीका निमा शेर्पा अतिथि थिए ।
नेपाली र अमेरिकी राष्ट्रिय गान गाएर शुरू गरिएको कार्यक्रममा शेर्पा संघ कोलोराडोका महासचिव निमा शेर्पाले स्वागत मन्तब्य दिएका थिए भने शेर्पाको सेव्रु नृत्यद्वारा अतिथि तथा सहभागीहरूलाई स्वागत गरिएको थियो ।
शेर्पा संघ कोलोराडोका सल्लाहकार तथा शेर्पा फाउन्डेशनका अध्यक्ष पेम्वा तेम्जिङ शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिलगायत एक दर्जन भन्दा बढी अतिथिहरूले बधाइ तथा शुभकामना मन्तब्य दिएका थिए ।
बक्ताहरूले मातृभूमि नेपाललाई विश्वसामु चिनाउने सम्पूर्ण नेपालीहरूको गैरव सगरमाथा आरोहणमा शेर्पा समुदायको अमुल्य योगदान रहेको भन्दै उनीहरूको दृढता, साहस र श्रमको कोलोराडोले उच्च मुल्याङ्कन गरेकोमा गभर्नर पोलिसलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा गत वर्ष मे १९ तारिखमा सगरमाथाको शिखरमा पेम्वा रिता शेर्पाले फहराएको एनआरएन कोलोराडो च्याप्टरको लोगो आरोही शेर्पाले च्याप्टरका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी जनबरी ५, २०२२ मा शेर्पा दिवस घोषणा भएको दिन गर्भनरसँग आरोहीहरुले खिचेको तस्वीरसहित आमेरिका र कोलोराडोको झण्डा शेर्पा संघ कोलोराडोको लोगो कार्यक्रमका प्रमुख अतिथिमार्फत कोलोराडोका गभर्नर जेडर पोलिस समक्ष पुर्याइ दिन शेर्पाहरूले नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठमार्फत अगामी बर्षदेखि तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा चुमेको मे २९ तारिखको दिनमा नै शेर्पा दिवस मनाउने वातावरण बनाइ दिन पनि गभर्नर समक्ष सन्देश पठाइएको छ । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा शेर्पा संघ कोलोराडोको महासचिव तथा एनआरएनए एनसीसी यूएसए निमा शेर्पाले नेपाली घरलाई सहयोग स्वरूप १२५० डलरको चेक हस्तान्तरण गर्दै सबैलाई यस महायज्ञमा सहभागी हुन अनुरोध गरेका थिए । कार्यक्रम एनआरएन कोलोराडो च्याप्टरका महिला सचिव संगीता लामा लामिछानेले सञ्चालन गरेकी थिइन् ।