२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

अवैध आप्रवासीलाई स्वदेश फर्किए नगद दिने अमेरिकी प्रलोभन



अमेरिकाको गृह सुरक्षा विभागले आइतबार एक नयाँ नीति घोषणा गर्दै अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई स्वदेश फर्किन हौसला दिन नगद तथा यात्रा सहायता प्रदान गर्ने जानकारी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई अमेरिका बाट हटाउने अठोट दोहोर्याएसँगै, यो कार्यक्रम स्वेच्छिक रूपमा स्वदेश फर्किने आप्रवासीहरूको संख्या बढाउने उद्देश्यले ल्याइएको हो ।

विभागले बताएअनुसार, अमेरिका छोड्न इच्छुक आप्रवासीहरूलाई एकतर्फी हवाई टिकट निःशुल्क उपलब्ध गराइनेछ र उनीहरू स्वदेश फर्किएको पुष्टि गरेमा थप एक हजार अमेरिकी डलर दिइनेछ । स्वदेश फर्किएको पुष्टि गर्न आप्रवासीहरूले सीबीपी होम एप प्रयोग गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनेहरूलाई भविष्यमा नियन्त्रण तथा जबरजस्ती हटाउने प्राथमिकतामा नराखिने र यदि उनीहरूले कानुनी बाटोबाट पुनः अमेरिका प्रवेश गर्न चाहन्छन् भने त्यसको सम्भावना कायम रहन सक्ने पनि विभागले जनाएको छ ।

बिभागका अनुसार, कम्तिमा एक आप्रवासीले यो सुविधा प्रयोग गरी हालै होन्डुरस फर्किएका छन् भने अन्य केहीको लागि आगामी साताका लागि टिकट बुक गरिएको छ । यो नीति मानवीय र व्यवहारिक विकल्पका रूपमा ल्याइएको बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ५४ बजे