नर्थक्यारोलिना, अमेरिका । नर्थक्यारोलिनाको राले आरटिपि क्षेत्रमा पहिलोपटक आयोजित ल्होसार फुटबल कपको उपाधि लुम्बिनी एफसीले जितेको छ ।
बौद्ध धर्मावलम्बीहरूको महान चाड २१५३ औं ग्याल्पो ल्होसारको अवसर पारेर फुके नेपाली फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा लुम्बिनी एफसीले बौद्धनाथ एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
गत फेब्रुअरी १४ बाट सुरु भई मार्च ६ सम्म चलेको यस प्रतियोगितामा ३० वर्ष माथिका १२० जना खेलाडीहरू सम्मिलित ८ वटा टिमले सहभागिता जनाएका थिए । फाइनल खेल पश्चात आयोजित पुरस्कार वितरण समारोहमा विजेता लुम्बिनी एफसीलाई बौद्ध धर्मगुरु गेसीलाले शिल्ड र पदक प्रदान गरेका थिए भने उपविजेता बौद्धनाथ एफसीलाई एनसिएनसीका अध्यक्ष धदिन पाण्डेले पदक वितरण गरेका थिए । प्रतियोगितामा मदन पुनले म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ताको उपाधि हात पारे भने जीवन न्यौपाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
कार्यक्रममा बोल्दै एनसिएनसीका अध्यक्ष धदिन पाण्डेले नर्थक्यारोलिनामा लामो समयदेखि दशैँको अवसरमा हुँदै आएको दशैँ कपको निरन्तरता स्वरूप यस वर्षदेखि ल्होसार कपको सुरुवात हुनु खुसीको कुरा भएको बताए । उनले खेलकुदको माध्यमबाट नेपाली समुदायलाई नजिक ल्याउन र एकता बलियो बनाउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने रेफ्रीहरू विकास सापकोटा, संयम लामिछाने र लाइन्स म्यानहरूलाई आयोजक संस्थाका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।











