४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

धनुषाकी २५ वर्षीय रुबीकुमारी ठाकुरको राजनीतिक छलाङ, उपसभामुख पक्का



धनुषाकी युवती रुबी कुमारी ठाकुर यतिबेला राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा पुगेकी छन् । प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित भएकी उनी अब उपसभामुख बन्ने तयारीमा पुगेपछि थप चर्चामा आएकी हुन् । २५ वर्षको उमेरमै यस्तो उच्च संवैधानिक पदमा पुग्न लागेकी रुबी नेपालकै इतिहासमा सबैभन्दा कम उमेरकी उपसभामुख बन्ने अवस्थामा पुगेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाकी स्थायी बासिन्दा रुबी सामान्य परिवारबाट आएकी हुन् । कपाल काट्ने सानो सैलुन व्यवसाय गर्दै आएका उनका बुवा सोगारथ ठाकुर र गृहिणी आमा रेणु ठाकुरको परिवारमा हुर्किएकी उनी हालसम्म कुनै स्थापित राजनीतिक पृष्ठभूमिबिना नै राष्ट्रिय राजनीतिमा उदाएकी पात्र हुन् । केही समयअघि मात्रै श्रम संस्कृति पार्टीमा आवद्ध भएकी रुबीले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन् ।

जेन–जी पुस्ताको सक्रियता र सामाजिक अभियानबाट प्रभावित हुँदै राजनीतिमा प्रवेश गर्ने सोच बनाएकी उनले निर्वाचनको केही महिनाअघि मात्रै पार्टीका मधेस प्रदेश पदाधिकारी दीपकजंग ठाकुरसँग सम्पर्क गरेर राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनको सक्रियता र प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै पार्टीले समानुपातिक सूचीमा नाम समावेश गरेको थियो। रुबी स्वयंले पनि आफू सूचीमा परेको थाहा नपाएको र सांसद निर्वाचित भएको खबर पाउँदा विश्वास गर्न नसकेको अनुभव सुनाएकी छन्।

उनले निर्वाचनअघि घर–घरमा पुगेर पार्टीका लागि मत मागेको र त्यसक्रममा सांसद बन्ने कल्पनासमेत नगरेको बताउँछिन्। पछि एक्कासी काठमाडौँबाट आएको फोनमार्फत आफू सांसद बनेको जानकारी पाएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पुष्टि हुँदा आफू अत्यन्त खुशी भएको उनको भनाइ छ। अहिले उपसभामुखमा चयन हुने प्रक्रियामा पुगेपछि यो अवसरलाई जनताको सेवामा प्रयोग गर्ने दृढता उनले व्यक्त गरेकी छन्।

रुबीले हर्क साम्पाङको कार्यशैलीबाट प्रेरित भएर श्रम संस्कृति पार्टी रोजेको बताउँछिन्। उनका अनुसार जनताको समस्या समाधानका लागि प्रत्यक्ष रूपमा फिल्डमा खटिने नेतृत्वप्रति आकर्षित भएर उनले यो राजनीतिक बाटो रोजेकी हुन्। सांसद चयन भएपछि मात्रै उनले पार्टी अध्यक्ष साम्पाङसँग प्रत्यक्ष भेट भएको पनि उनले बताइन्।

शैक्षिक रूपमा उनले धनुषाकै सोहनी माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेपछि सर्लाहीको बलरा पोलिटेक्निक इन्स्टिच्युटबाट डिप्लोमा इन इन्जिनियरिङ पूरा गरेकी छन्। त्यसपछि जनकपुरधामस्थित एक आर्किटेक्चर कन्सल्टेन्सीमा करिब आठ महिना काम गरेकी थिइन्। आगामी दिनमा सांसदको जिम्मेवारीसँगै इन्जिनियरिङमा स्नातक अध्ययन जारी राख्ने योजना पनि उनले बनाएकी छन्।

आर्थिक रूपमा सामान्य परिवारबाट आएकी रुबीले आफ्ना व्यक्तिगत संघर्षहरू स्मरण गर्दै अब देश र जनताको समस्या समाधानमा केन्द्रित हुने बताएकी छन्। उनका अनुसार मधेस क्षेत्रमा बेरोजगारी, दाइजो प्रथा र बालविवाह जस्ता समस्या गम्भीर चुनौतीका रूपमा रहेका छन्। यी समस्याको समाधानका लागि संसदमार्फत कडा कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिने उनको प्रतिबद्धता छ।

अविवाहित रहेकी रुबीले आगामी पाँच वर्ष प्रतिनिधि सभामा सक्रिय रूपमा काम गर्ने र त्यसपछि अध्ययन तथा व्यक्तिगत जीवनबारे सोच्ने योजना रहेको बताएकी छन्। सामान्य परिवारबाट उठेर छोटो समयमै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान बनाउन सफल उनको यात्रा अहिले धेरैका लागि प्रेरणाको विषय बनेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ९ : ४९ बजे