४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

जेनजी आन्दोलनमा अपराध गरेको आरोपमा ३५० पक्राउ, मारिएका सात जनाको अझै पहिचान खुलेन



गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’सँग सम्बन्धित हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं ले ३५० जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा तोडफोड, आगजनी, हत्या लगायतका घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये आपराधिक उपद्रवमा सबैभन्दा धेरै २०४ जना छन् भने हातहतियारसम्बन्धी कसुरमा ५१ जना पक्राउ परेका छन् ।

त्यस्तै चोरीको कसुरमा १७, आपराधिक उपद्रव तथा चोरीमा २९, कर्तव्य ज्यान मुद्दामा १८, अभद्र व्यवहारमा २३, ज्यान मार्ने उद्योगमा ४ र डाँका चोरीमा २ जना पक्राउ परेका छन् ।

प्रहरीले दिएको विवरणअनुसार पक्राउ परेकामध्ये ११६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ११ जना धरौटीमा रिहा भएका छन् भने ११९ जना हाजिरी जमानीमा छुटेका छन् । तीन जनाविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ भने एक जनाको मुद्दा टुंगिएको छ । सात जना साधारण तारेखमा छुटेका छन् ।

यसैबीच, उक्त आन्दोलनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक को विवरणसमेत अनुसन्धानमा समावेश गरिएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । तीमध्ये ४२ जनाको पहिचान भई परिवारलाई जिम्मा लगाइएको भए पनि अझै सात शवको पहिचान हुन सकेको छैन ।

प्रहरीका अनुसार ती शवहरू जलेको अवस्थामा कंकालका रूपमा फेला परेकाले पहिचान गर्न कठिन भएको हो । हाल डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको पवनकुमार भट्टराई ले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : २३ बजे