न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको “हश मनी” मुद्दामा दोषी ठहरलाई खारेज गर्न गरिएको माग अस्वीकार गरेका छन् । ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतको पछिल्लो “इम्युनिटी” निर्णयको आधारमा उक्त दोषी करार खारेज हुनुपर्ने तर्क राखेका थिए । “हश मनी” भनेको कसैलाई आफ्नो गोप्य कार्यको पर्दाफास नगर्न भन्दै दिइने रकम हो ।
सर्वोच्च अदालतले जुलाईमा राष्ट्रपतिहरूले पदमा रहँदा गरेका “आधिकारिक काम” का लागि आपराधिक उन्मुक्ति (इम्युनिटी) हुने निर्णय सुनाएको थियो । तर, सोमबार म्यानह्याटनका न्यायाधीश जुआन मर्चनले ट्रम्पको मुद्दा “गैर-आधिकारिक गतिविधि” मा केन्द्रित रहेको भन्दै सरकारी वकिलहरूको पक्षमा फैसला सुनाए ।
यस फैसलाले ट्रम्पको ऐतिहासिक दोषसिद्धीलाई कायम राखेको छ । यदि यो फैसला पुनः अनुमोदित भयो भने, ट्रम्प अमेरिकी इतिहासमा जेल सजाय पाएका पहिलो राष्ट्रपति बन्नेछन् ।
न्यायाधीश मर्चनले आफ्नो ४१ पृष्ठ लामो फैसलामा ट्रम्पको तर्कलाई खारेज गर्दै भनेकी छन्, “ट्रम्प विरुद्ध अदालतमा प्रस्तुत प्रमाण पूरै गैर-आधिकारिक कार्यसँग सम्बन्धित छन् ।” उनले सर्वोच्च अदालतको फैसलालाई उद्धृत गर्दै “राष्ट्रपतिको प्रत्येक काम आधिकारिक हुँदैन, चाहे त्यो ओभल अफिसबाटै गरिएको किन नहोस्” भनेकी छन् ।
यस फैसलापछि ट्रम्पका प्रवक्ताले अमेरिकी मिडियालाई प्रतिक्रिया दिँदै भने, “यो फैसलाले सर्वोच्च अदालतको इम्युनिटी निर्णयको ठाडो उल्लङ्घन गरेको छ । यो अवैधानिक मुद्दा कहिल्यै दायर हुनु हुँदैन थियो, र यसलाई तत्काल खारेज गर्न माग गर्दछ ।”
गत मे महिनामा न्यूयोर्कको एक जूरीले ट्रम्पलाई व्यावसायिक रेकर्ड कीर्ते गरेको आरोपमा दोषी ठहर गरेको थियो । उक्त दोषसिद्धी ट्रम्पले आफ्नो पूर्व वकिल माइकल कोहेनलाई २०१६ मा एक वयस्क फिल्म अभिनेत्रीलाई मौन राख्न तिरेको रकमको ढाकछोपको प्रयाससँग सम्बन्धित छ । ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
न्यायाधीश मर्चनले यसअघि १२ नोभेम्बरमा फैसलासम्बन्धी निर्णय दिनुपर्ने थियो तर ट्रम्प पुनः निर्वाचित भएपछिको परिस्थितिलाई ध्यानमा राख्दै उनले निर्णय स्थगित गरेकी थिइन् । यद्यपी न्यायाधीश मर्चनले ट्रम्पले जनवरीमा पद सम्हाल्नु अघि वा उनको कार्यकाल समाप्त भएपछि वा कुन समय सजाय सुनाउने हो त्यस बारेमा भने निर्णय गरेकी छैनन् ।








