नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षको राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेको छ । बुधबार र बिहीबार काठमाडौंमा बसेको भेलाले रेशमका बुवा तथा बर्दिया–२ बाट निर्वाचित संघीय सांसद लालवीर चौधरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
पार्टी संसदीय दलका नेता गंगाराम चौधरीका अनुसार, पार्टीभित्र देखिएको नेतृत्व विवाद समाधान गर्न नयाँ अध्यक्ष चयन गरिएको हो । “अध्यक्ष श्रेष्ठमाथि विभिन्न आरोप लागेपछि हामीले राष्ट्रिय भेलामा उपस्थित भई जवाफ दिन पटक–पटक आग्रह गरेका थियौं,” चौधरीले भने, “तर उहाँ भेला नआएपछि पार्टीले नयाँ नेतृत्व चयन गरेर निकास दिएको हो ।”
यसअघि बुधबार सम्पन्न राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । श्रेष्ठमाथि पोखराको बाटुलेचौरस्थित लिची बगान हडप्न बिचौलियासँगको संलग्नताको आरोप लागेको छ, जसपछि पार्टीभित्र विवाद चर्किएको हो ।
पार्टी अध्यक्षबाट हटाइएपछि रञ्जिता पक्षले भने उक्त निर्णयलाई अस्वीकार गर्दै कानुनी उपचारको तयारी गरेको छ । श्रेष्ठले आफूले नबोलाएको भेलाको निर्णय विधानविपरीत भएको बताउँदै अदालत जाने संकेत दिएकी छन् ।
यता, श्रेष्ठले पार्टी हितविपरीत कार्य गरेको आरोप लगाउँदै संसदीय दलका नेता गंगाराम चौधरीलाई समेत स्पष्टीकरण सोधेकी छन् । उनले चौधरीलाई पार्टीको विधान तथा राजनीतिक दलसम्बन्धी ऐनविपरीत क्रियाकलाप गरेको आरोप लगाउँदै कारबाही किन नगर्ने भनेर प्रश्न गरेकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीको नेतृत्व विवाद झनै चुलिएको छ । संरक्षक रेशम चौधरीले पत्नी श्रेष्ठलाई हटाएर आफ्ना बुवालाई अध्यक्ष बनाउनु, र त्यसविरुद्ध श्रेष्ठ पक्षको कानुनी तयारीले पार्टीको आन्तरिक कलह अझै लम्बिने संकेत देखिएको छ ।









