विश्वप्रसिद्ध लुभ्र संग्रहालयबाट आइतबार राति नेपोलियनले आफ्नी दोस्रो पत्नीलाई दिएको पन्ना हारसहित ऐतिहासिक मूल्यका रत्नगहनालगायत चोरी भएका छन् । चोरी भएका वस्तुहरूलाई फ्रान्सको संस्कृति मन्त्रालयले “अमूल्य सम्पदा” भनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुका अनुसार चोरहरूले लुभ्रको माथिल्लो तल्लाको अपोलो ग्यालरी लक्ष्य बनाएको देखिन्छ, जहाँ फ्रान्सका राजकुलका मुकुट–रत्नहरू प्रदर्शनीमा राखिएका थिए । सात मिनेटमै भएको उक्त योजनाबद्ध चोरीमा चोरहरूले दुईवटा उच्च सुरक्षा कवाजसहितका प्रदर्शनी केस तोडी नौवटा ऐतिहासिक गहना चोरेका थिए । चोरीपछि उनीहरू मोटरसाइकलमा फरार भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।
संस्कृति मन्त्रालयका अनुसार चोरिएका वस्तुमध्ये सम्राज्ञी यूजिनीले लगाउने सुनको मुकुट भने संग्रहालय नजिकैबाट फेला परेको छ ।
चोरी भएका गहनाहरु
नेपोलियनले दोस्रो पत्नीलाई दिएको पन्ना हार: नेपोलियनले सन् १८१० मा आफ्नो दोस्रो पत्नी मारी–लुइज अफ अस्ट्रियालाई विवाह उपहारस्वरूप दिएका पन्ना र हिराका गहनाहरू पनि चोरीमा परेका छन् । यो सेटमा ३२ वटा पन्ना र १,१३८ वटा हिरा रहेको बताइन्छ । सन् २००४ मा लुभ्रले यो सेट ३.७ मिलियन युरो (करीब ४.३ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो ।
नीलमणि र हिराको मुकुट: चोरीमा परेको अर्को सेट नीलमणि र हिराको मुकुट हो, जसमा २४ वटा सिलोन नीलमणि र १,०८३ वटा हिरा छन् । यो मुकुट हर्टेन्स डे बोहार्ने, क्विन मारी–एमेली र डचेस अफ गुइज लगायतले लगाउने गरेका थिए ।
सम्राज्ञी यूजिनीको “रेलिक्वारी ब्रोच”: सन् १८५५ मा पल–अल्फ्रेड बाप्स्टले बनाएको यो विशेष ब्रोचमा ९४ वटा हिरा छन् । यसमा सन् १६६१ मा कार्डिनल माजारिनले राजामहिम लुइ–१४लाई दिएका दुई ऐतिहासिक “माजारिन डायमन्ड” समेत जडित छन् ।
हिरा र सुनको बो–ब्रोच र मोतीको मुकुट: सम्राज्ञी यूजिनीको अर्को बहुमूल्य ब्रोच र मुकुट पनि चोरीमा परेको बताइन्छ । उक्त बो–ब्रोचमा ४,००० भन्दा बढी हिरा प्रयोग गरिएको थियो, जुन उनले क्विन भिक्टोरियाको सन् १८५५ को भ्रमणका क्रममा लगाएकी थिइन् । लुभ्रले यो ब्रोच २००८ मा ६.७२ मिलियन युरोमा खरिद गरेको थियो । त्यस्तै, सन् १८५३ मा बनाइएको यूजिनीको मोतीको मुकुटमा २१२ मोती र १,९९८ हिरा छन् ।
कलासम्पदा फिर्ता विशेषज्ञ आर्थर ब्रान्डले यस चोरीलाई “फ्रान्सका लागि राष्ट्रिय विपत्ति” भनेका छन् । “यी नेपोलियन, उनका उत्तराधिकारी र उनका परिवारका राजकुल गहना हुन्, जुन फ्रान्सको प्राकृतिक गौरव हो,” उनले सीएनएनसँग भनेका छन् ।
फ्रान्सेली प्रहरीले चोरीमा संलग्न समूह खोज्न देशव्यापी अनुसन्धान थालेको छ । लुभ्रले भने सुरक्षाको कमजोरीका कारण कसरी सात मिनेटमै दुई उच्च–सुरक्षा कक्ष भंग गरियो भन्ने विषयमा आन्तरिक समीक्षा सुरु गरेको जनाएको छ ।









