३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

अख्तियार प्रमुखसहितलाई हत्याको धम्की दिने पाठक फिलिपिन्समा पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारीहरूलाई हत्याको धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई बुधबार काठमाडौँ ल्याइएको छ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुसको तेस्रो साता पक्राउ गरेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनलाई नेपाल ल्याइएको हो र अब जिल्ला प्रहरी परिसर काठमाडौँले यस विषयमा थप अनुसन्धान अघि बढाउनेछ।

आफूलाई एक उग्रवादी संगठनको प्रमुख बताउने पाठकले प्रमुख आयुक्त राईसहितका अधिकारीहरूको हत्या गर्ने धम्की दिएका थिए। यसअघि नै काठमाडौँ प्रहरीले यो प्रकरणमा संलग्न उनका तीन जना साथीहरूलाई पक्राउ गरिसकेको छ। पाठकविरुद्ध १ डिसेम्बर २०२५ मा जिल्ला अदालत काठमाडौँबाट आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी समेत जारी भएको थियो। फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार उनी १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए र उनलाई १८ डिसेम्बरसम्म मात्र बस्ने अनुमति थियो।

फिलिपिन्स अध्यागमनको वेबसाइटमा उल्लेख भएअनुसार पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, उनीहरूलाई आर्थिक सहयोग गर्ने र हतियारसम्म पहुँच रहेको संकेत दिने खालका अभिव्यक्ति दिने गरेका थिए। उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रमा समेत जोडिएको पाइएकाले त्यहाँको अध्यागमनले उनलाई डिपोर्टको प्रक्रिया पूरा नभएसम्म हिरासतमा राखेर अन्ततः नेपाल प्रहरीको जिम्मा लगाएको हो। अब उनीमाथि नेपालको कानुन बमोजिम मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  १० : १३ बजे