रुपन्देही । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको परिपथका रुपमा स्थापना गर्न जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरी समापन भएको छ ।
लुम्बिनीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले मानवजातिको अन्तरआस्था र शान्ति संवादका लागि अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । भारतको बोधगया, सारनाथ र कुशीनगर तथा श्रीलंका, म्यानमा, चीन, पाकिस्तान र बंगलादेशको बौद्ध सम्पदालाई प्रवद्र्धन गर्न घोषणापत्रमा जोड दिइएको छ ।
बौद्ध शिक्षाका लागि लुिम्बनीलाई विश्व केन्द्रका रुपमा विकास गर्न जोड दिँदै सम्मेलनले विश्व बौद्धमार्गी मञ्च स्थापना गरी बौद्ध परम्पराको सञ्जालका लागि शुभारम्भ गरिने जनाइएको छ । विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्वन गर्दै अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवर्द्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएको छ ।
लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्ने तथा धार्मिक र धर्मनिरपेक्ष नेतालाई एकै थलामा ल्याएर गरीबीबाट उन्मुक्ति दिलाउनका लागि नेपाल सरकार र संयुक्त राष्ट्र संघको दृष्टिकोण अघि बढाउन सम्मेलनमा सहभागी बौद्ध विद्वान् सहमत भएका छन् ।
जापानका प्रा केन्जो टाँगेद्वारा तयार गरिएको लुिम्बनी गुरुयोजनालाई शान्ति र मानवताको विश्व केन्द्रका रुपमा सम्पन्न गर्नेमा समेत सम्मेलनले जोड दिएको छ । सम्मेलनमा २३ देशका बौद्ध धर्मगुरु, वरिष्ठ भिक्षु र बौद्ध विद्वान्ले बौद्ध धर्म, संस्कृति, साहित्य र दर्शनसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बौद्ध दर्शन संस्कृति र धर्म मात्रै नभई मानवजातिको समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे ।