९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति



सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

मंगलबार विशेष अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई पहिलो पटक सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने २० दिन हिरासतमा राख्न म्याद थपको माग गरेको थियो ।

अदालतको आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पुर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरुरी पक्राउ पुर्जी स्वीकृत भई आज पहिलो पटक सात दिन म्याद थप भएको छ ।”

पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो। पक्राउपछि उनलाई काठमाडौं ल्याई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको थियो ।

यस प्रकरणमा विभागले पौडेलको सम्पत्ति आर्जन, आर्थिक कारोबार तथा स्रोतको वैधतासम्बन्धी विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । एमालेका वरिष्ठ नेतासमेत रहेका पौडेलको पक्राउसँगै राजनीतिक वृत्तमा समेत यस घटनाले व्यापक चर्चा पाएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ३३ बजे