फाइल फोटो-पिटिआइ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल आउँदैछन् । बिहान ९ बजे भारतीय वायु सेनाको हेलिकप्टरबाट जनकपुरको विमानस्थलमा अवतरण गर्ने भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदी पूजाका लागि जानकी मन्दिर आउने कार्यक्रम रहेको छ ।
मोदीलाई जानकी मन्दिरमै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने छन् । पूजा आराधनापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्म रहेको छ । रामायण सर्किटसँगै जनकपुर अयोध्या बस सेवाको शुरुवात हुने पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
लगत्तै बाह्रबिघा मैदानमा मोदीले काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकाबाट नागरिक अभिन्दन ग्रहण गर्ने कार्यक्रम छ । बाह्रबिघाबाट काठमाडौंका लागि प्रस्थान गर्ने भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक रुपमा द्विपक्षीय बार्तामा सहभागी हुनेछन् ।
काठमाडौंमै बार्तापछि सहमतिमा हस्ताक्षर भएर प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । राष्ट्रपति, उप–राष्ट्रपतिसँग औपचारिक भेटबार्ता सकेर मोदी भोलिपल्ट मुक्तिनाथ दर्शन गरी फर्केर काठमाडौंबाट स्वदेशका लागि प्रस्थान गर्ने छन् । मोदी मुक्तिनाथ जाने भएपछि पदमार्गसमेत दुई दिनका लागि बन्द गरिने भएको छ ।
तयारी निरीक्षणका लागि पराराष्ट्रमन्त्री पुगे जनकपुर
मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर पुगेका छन् ।
मोदीको २०७१ सालमा भएको नेपाल भ्रमणका समयमा भारतले नेपाली सेनालाई प्रदान गरेको ‘हिन्दुस्तान एरोनोटिक्स’को एडभान्स लाइट हेलिकोप्टरमा चढेर परराष्ट्रमन्त्री ज्ञवाली जनकपुर पुगेका हुन् ।
ज्ञवालीसँगै भारतीय राजदुत मञ्जिभ सिंह पुरी समेत जनकपुर पुगेका छन् । मोदी वैशाख २८ गते पटना हुँदै भारतीय सेनाको हेलिकोप्टरबाट जनकपुर आउँदै छन् । भारतीय प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।
पहिलो भ्रमणमा संसदमा नेपाली भाषामै गरेका थिए सम्बोधन
मोदीले २०७१ साउन १८ गते नेपालको संसदमा नेपाली भाषामा संवोधन गरेका थिए । सोहि दिन दुईदिने भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईतबार भव्य स्वागत गरेका थिए ।
मोदीले नेपाली भाषामा संवोधन गरेकोमा सभासद्हरुले तालीले स्वागत गरेका थिए । मोदीले नेपाल भारत सम्बन्ध ‘हिमालय र गंगा’को जस्तै पुरानो भएको र नेपालको सडक र विद्युत विकासका लागि १० हजार करोड नेपाली रुपैंया सहयोगको घोषणा गरेका थिए ।
संविधानसभाको समेत दायित्व निर्वाह गर्ने नेपालको व्यवस्थापिका–संसदमा पहिलोपटक विदेशी प्रधानमन्त्रीका रुपमा मोदीले सम्बोधन गरेका हुन् ।
उक्त अवसरमा मोदीले गौतम बुद्ध नेपालमा जन्मिएका बताएका थिए ।
दोस्रो भ्रमण सार्कका सम्मेलनमा सहभागी हुन
भारतीय प्रधानमन्त्री मोदीको दोस्रो पटकको नेपाल भ्रमण सार्क सम्मेलनका लागि भएको थियो । २०७१ मंसिर १० मा उनी सम्मेलनका लागि काठमाडौं आइपुगेका थिए । १८ औं सार्क शिखर सम्मेलनका लागि सार्कका नेताहरु धुलिखेलसम्म पुगेका थिए । उक्त अवसरमा ट्रमा सेन्टरको उद्घाटनसमेत गरेका थिए ।