काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छन् । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए ।
गत जेठ ७ गते संसदमा प्रष्तुत सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन् ।
“यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भने “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताए ।
सरकारले सुशासन, स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मोनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले दिवास्वपना पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भने “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”
प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पुनमर्मत गरेर सञ्चालनमा ल्याइएको बताए । सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।
संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताए । प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताए ।
प्रतिपक्षी दलहरुले तीन बर्षमा हुने काम तीन महिनामा किन भएन भनेर गरेको प्रश्नप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने “साथीहरुलाई म प्रति कत्रो विश्वास रहेछ । तीनबर्षमा हुने काम तीनै महिनामा गर्नेछ भन्ने विश्वासका आधारमा वहाँहरुले यस्तो प्रश्न गर्नुभएको हो ।”
प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिए । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।