१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

अर्थतन्त्र रूपान्तरणका ११ अवसर औंल्याउँदै अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे ‘आर्थिक स्थितिपत्र’



अर्थमन्त्री स्वर्णिम वाग्ले ले देशको वर्तमान आर्थिक अवस्थाबारे विश्लेषण गर्दै ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेका छन्। उक्त स्थितिपत्रमार्फत उनले अर्थतन्त्रका विद्यमान चुनौतीबीच आर्थिक रूपान्तरणका लागि ११ वटा महत्वपूर्ण अवसरहरू रहेको बताएका छन् ।

स्थितिपत्रमा वाग्लेले स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास अभिवृद्धि हुने उल्लेख गरेका छन् । यसले स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्र विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ । उनले जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गरी औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने उल्लेख गरेका छन्। क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान अझ सुदृढ बन्ने उनको दाबी छ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले उच्च मूल्यमा आधारित पर्यटन विकासको बलियो आधार प्रदान गरेको उल्लेख गर्दै उनले हिमाली, सांस्कृतिक तथा समुदायमा आधारित पर्यटनको एकीकृत विकासबाट ग्रामीण क्षेत्रमा आय र रोजगारी विस्तार गर्न सकिने बताएका छन् । पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापन सुधारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने पनि उनले औंल्याएका छन् ।

त्यसैगरी कृत्रिम बौद्धिकता र रोबोटिक्ससहित डिजिटल प्रविधिको विस्तारलाई अर्को महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ। सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ र डिजिटल उद्यमशीलतामार्फत न्यून पुँजीमा उच्च मूल्य अभिवृद्धि गर्ने आर्थिक गतिविधि विस्तार गर्न सकिने र युवाशक्तिलाई विश्व बजारसँग जोड्न सकिने सम्भावना रहेको वाग्लेले बताएका छन्।

कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन, आय र निर्यात वृद्धि गर्न सकिने उल्लेख गर्दै उनले उच्च मूल्यका बाली, पशुपालन, बगैंचा र कृषि प्रशोधन उद्योगमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भौगोलिक विविधताको उपयोगले क्षेत्रविशेष उत्पादन र ग्रामीण उद्योग विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ।

उद्योग क्षेत्र सुदृढीकरण र आपूर्ति श्रृङ्खला विकासमार्फत निर्यातउन्मुख उत्पादन विस्तार गर्न सकिने भन्दै उनले विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणमार्फत उत्पादन लागत घटाई प्रतिस्पर्धात्मकता बढाउन सकिने उल्लेख गरेका छन्। नेपालको भौगोलिक अवस्थालाई उपयोग गर्दै क्षेत्रीय ट्रान्जिट ट्रेड हब बन्ने सम्भावना पनि रहेको उनले जनाएका छन्।

व्यवस्थित शहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले यातायात, ऊर्जा, सिँचाइ तथा डिजिटल पूर्वाधार विस्तारले उत्पादनशीलता वृद्धि गर्ने बताएका छन्। सार्वजनिक–निजी साझेदारीमार्फत ठूला आयोजना कार्यान्वयन गर्ने अवसर पनि रहेको उनको भनाइ छ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्न सके अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै उनले प्रवासी नेपाली र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई स्वदेशी उत्पादन र सेवा क्षेत्रमा उपयोग गर्नुपर्ने बताएका छन्।

वित्तीय क्षेत्र सुदृढीकरण, वित्तीय समावेशीकरण र डिजिटल वित्तीय सेवाको विस्तारले उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने उनले जनाएका छन्। साथै, जैविक र पर्यावरणीय सन्तुलन कायम गर्दै देशभित्र उपलब्ध प्राकृतिक स्रोतसाधनको उपयोगमार्फत आय, उत्पादन र रोजगारी बढाउने अवसर रहेको पनि उनले औंल्याएका छन्।

स्थितिपत्रमा वाग्लेले सुशासन र संस्थागत सुदृढीकरणलाई आर्थिक रूपान्तरणको आधारका रूपमा प्रस्तुत गरेका छन्। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, सेवा प्रवाह अभिवृद्धि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमार्फत विकास परिणाम सुधार गर्न सकिने उनको निष्कर्ष छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : २९ बजे