११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

निर्मला पन्त प्रकरणको दोषी पत्ता लगाउन दिनहुँजसो प्रदर्शन, सरकार मौन


१९ मंसिर २०७५, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

गत साउन ११ गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । ट्युसन पढेर घर फर्कँदा नै हराएकी उनको भोलिपल्ट उखुबारीमा शव फेला प¥यो । बलात्कार र त्यसपछि हत्या । चरम निर्मम तरिकाले उनको हत्या भएको देखियो ।

हत्या भएको सार्वजनिक भएसँगै प्रहरीले विभिन्न व्यक्तिहरू पक्रने र छाड्ने गरिरह्यो । यसै क्रममा सरकारले अनुसन्धानमा गएकाहरूमाथि नै अनुसन्धान थाल्यो । यही क्रममा जनताको विश्वास टुट्यो र जनता स्वतःस्फूर्त सडकमा निस्के । यही क्रममा आन्दोलनमा एकजनाको मृत्यु भइसकेको छ ।

भदौ ३० गते माइतीघरमा निर्मलाका बुबा यज्ञराजले छोरीको न्यायको खोजीमा आफू काठमाडौं आउनुपरेको भन्दै न्याय दिन सरकारसँग आग्रह गरे । आमा दुर्गादेवीले आफ्नो काख रित्तिएको र न्यायका लागि सबैले बोलिदिन आग्रह गरिन् ।

साउनको घटना, मंसिर सकिनै लागेको छ । अनुसन्धान टुंगो लागेको छैन । निर्मलाका बाआमा काठमाडौंबाट फर्केर कञ्चनपुर पुगे । अनिश्चितकालीन अनशन बसे । अहिले यज्ञराजको मानसिक अवस्था ठिक नभएकोले दुबै जना काठमाडौं आइपुगेका छन् ।

निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै अहिले दिनहुँजसो सडकमा प्रदर्शन भइरहेका छन् । हालै एक समूहले निर्मलाको पोस्टर बनाएका छन् । उनीहरुले ‘सरकार भेटियो न्याय भेटिएन’ नारासहितको पोस्टर विभिन्न स्थानमा टाँसे पनि । टाँसेको केही समयमा प्रहरीले च्यातेको भिडियो र फोटो पनि भाइरल भइरहेको छ ।

यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले सरकारले कारबाही नगरे आफ्नो पार्टीले दोषीलाई कारबाही गर्ने भन्दै चेतावनी दिइसकेको छ । यस्तो अवस्थामा सरकार अहिले मौन छ ।

कसलाई के कारवाही ?

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटायो ।

कातिक ८ गते बिहीबार गृह मन्त्रालयमा बसेको गृहसचिव स्तरको बैठकले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो ।

प्रहरी प्रधान कार्यालयले सोही दिन दिउँसो मात्रै एसपी विष्ट र भट्टकोको दोस्रो स्पष्टीकरणसहितको पत्र गृह मन्त्रालयमा बुझाएको थियो ।
अघिल्लो दिन एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो। दुवैको स्पष्टीकरणमा चित्त नबुझेपछि सेवाबाट हटाउने निर्णय गरिएको हो ।

एआइजी धीरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान गरी बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टलाई कारबाही गर्नको लागि पत्र लेखेको थियो ।

दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्ने र चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने वा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ ।

गृह मन्त्रालयले एसपी विष्टलाई भदौ ९ गते निलम्बन गरेको थियो।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । डिएनए मेल नखाएपछि विष्ट छुटिसकेका छन् ।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसँगै एसपी विष्ट कारबाहीमा परेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ८ : ४९ बजे