रसुवा — माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आयोजनामा ठूलो क्षति पुग्नुका साथै धेरै व्यक्तिहरू सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने क्रममा आज अडिट ३ टनेल (सुरुङ) को जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा थप ११ वटा शव बाहिर निकालिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी कार्य जारी राख्ने क्रममा उक्त शवहरू फेला पारेको हो।
यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा गरी कुल १८ वटा शव भेटिएका थिए। आज थप ११ जनाको शव फेला परेकोसँगै सुरुङभित्रबाट निकालिएका मृतकको संख्या २९ पुगेको छ।
बाढीका कारण अझै केही व्यक्तिहरू बेपत्ता रहेको अनुमान गरिएकाले उद्धार टोलीद्वारा खोजी कार्यलाई तीव्रताका साथ जारी राखिएको छ।









