काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार २८५४ शुरु भएको छ । आज टुडिखेलमा ल्होछार इभ आयोजना गरिएको छ ।
२८५४ को इभमा खि ल्हो(कुकुर वर्ग)को दीप प्रज्वलन गर्दै बिदाइ गरेका छन् भने फाग ल्हो(सुँगुर वर्ग)को स्वागत गरे ।
तामाङ घेदुङको संयोजकत्व, नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व साथै सय भन्दा बढी तामाङ संघ संस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समितिको संयोजनमा कार्यक्रम शुरु भएको हो ।
सुक्र लामाले ताम्बा सेरगेम गीत गाउँदै कार्यक्रमको सुरुवात गरे ।
तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो सोनाम ल्होछार । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन ल्हो परिवर्तन हुन्छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । अघिल्लो वर्ष भने प्रधामन्त्री ओली ल्होछारमा उपस्थित भएका थिएनन् ।