न्यूयोर्क, अमेरिका । अमेरिकाको न्यूयोर्कमा अवस्थित गैरनाफामूलक संस्था हिमालयन होप नेटवर्क इन्क ले नेपालको रसुवा–भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि २६ हजार २७२ अमेरिकी डलर २० सेन्ट (करिब ४० लाख २४ हजार ६ सय ३८ रुपैयाँ) राहत रकम नेपाल पठाएको छ । गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ संस्थाले सो रकम संकलन गरी हस्तान्तरण गरेको हो ।
बाढीपछि प्रभावित समुदायलाई तत्काल राहत पुर्याउने उद्देश्यका साथ संस्थाले “रसुवा–भोटेकोशी बाढी राहत अभियान” सञ्चालन गरेको थियो । उक्त अभियानमा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने ९२ जना दाताहरूले आर्थिक योगदान गरेका थिए ।
संकलित सम्पूर्ण रकम सेप्टेम्बर १५ मा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ । हिमालयन बैंक लिमिटेडमा रहेको कोषको अमेरिकी डलर खातामा सो रकम बैंकमार्फत प्रत्यक्ष हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै हिमालयन होप नेटवर्कका अध्यक्ष काजी गुरुङले यो सहयोगले मानवीय करुणा र ऐक्यबद्धताको बलियो सन्देश दिएको बताएका छन् ।
अध्यक्ष गुरुङले भने, “रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको कठिन समयमा सहयोग गर्नुहुने ९२ जना दाता तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको सहयोग आर्थिक योगदानमा मात्र सीमित छैन, यसले टाढा रहेर पनि हामी उहाँहरूसँगै छौँ भन्ने सन्देश दिएको छ । हामीमाथि गरिएको विश्वासलाई कायम राख्दै पारदर्शिता, जवाफदेहिता र मानवीय सेवाको भावनाका साथ निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
संस्थाले अभियानको प्रचारप्रसार, सूचना प्रवाह, समन्वय तथा व्यवस्थापनमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना र जनजीवन सामान्य बन्ने आशा पनि संस्थाले व्यक्त गरेको छ ।
“Creating Hope Through Action” भन्ने मूल नाराका साथ स्थापित हिमालयन होप नेटवर्कले विपद् राहत, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा मानवीय तथा दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।









