११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अपडेट : बाढीपहिरोमा परी ६० जनाको मृत्यु, २६ जना बेपत्ता, राहत प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय


२९ असार २०७६, आइतबार  

0
Shares

काठमाडौं । विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।

विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । गृहमन्त्री रामबहादुर थापाले राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको जानकारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकका विभिन्न जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । सबैभन्दा बढी प्रदेश नं १ मा मानवीय क्षति भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार प्रदेश नं १ मा १९, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा १५, प्रदेश नं ५ र ६ मा दुई­दुई तथा उपत्यकाको दुई जिल्लामा आठ गरी ६० जनाको ज्यान गएको हो । उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापा र उदयपुरमा दुई–दुई, पाँचथर, सुनसरी, इलाममा एक­एक जनाको ज्यान गएको छ । प्रदेश नं २ अन्तर्गत रौतहटमा पाँच, धनुषा, महोत्तरी, पर्सा र बारामा दुई­दुई तथा सिराहामा एक गरी १४ जनाको मृत्यु भएको छ । प्रदेश नं ३ अन्तर्गत काभ्रेमा तीन, सिन्धुली र मकवानपुरमा चार–चार, धादिङमा दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश नं ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं १ को झापा र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् । प्रदेश नं २ को रौतहट, सिराहा र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं ३ को सिन्धुलीमा चार र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं ५ को दाङमा एक र प्रदेश नं ६ को डोल्पास्थित कासिल खोलाले बगाएर सात जना बेपत्ता भएको छ ।

घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं १ मा १६, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट ३४७, प्रदेश नं १ बाट १२, प्रदेश नं २ बाट ८२७ र प्रदेश नं ३ बाट २५८ जनाको उद्धार गरेको जनाएको छ । अन्य केही ठाउँबाट उद्धार गरिएको भए पनि विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय: बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने

सरकारले बाढी, पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको  मन्त्रिपरिषद्को आकस्मिक  बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि अत्यावश्यक राहतका कार्यहरू तदारुकताका साथ गर्ने निर्णय गरेको हो ।

साथै बाढी पहिरोमा परी घाइतेर भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले बेहोर्ने भएको छ ।

विपद् पूर्व तयारीमा कमजोरीकै कारण बाढीपहिरोले क्षति बढायो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले देशभर बाढी पहिरोका कारण क्षति बढ्नुमा पूर्व तयारीमै कमजोरी रहेको बताएका छन् । आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुसँग गृहमन्त्री थापाले उक्त भनाई राखेका हुन् ।

बाढी पहिरोले क्षति बढेको सम्बन्धमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले भने, ‘न्युन पूर्व तयारीका कारण क्षति बढी भएको हो । किनभने डुबान हुँदा हामीसँग पर्याप्त डुंगा भएन । र हेलि पनि छैन ।’

थापाले प्राकृतिक विपद् मानवीय विपद्का रुपमा आएकोले यसमा मानवीय कमजोरीसमेत रहेको बताए । ‘यो मानवीय कमजोरी हो। हाम्रो विकासको नीति अनि आवासको नीति स्पष्ट छैन । मापदण्डबिना जतासुकै बाटो बनाएको छ । यसले पनि बाढी पहिरो बढाएको छ ।’

कतिपय ठाउँमा बाँधले पनि जोखिम बढाएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसलाई मध्यनजर गर्दै विपदपूर्व तयारी राम्रो गर्नुपर्ने र सरकारले यसमा ध्यान दिने बताए ।

समितिमा सांसदहरुले उद्धार,राहत र क्षतिपूर्तिमा सरकारले विशेष ध्यान दिन आग्रह गरे । उनीहरुले वास्तविक पीडितसम्म राहत पुर्‍याउनसमेत आग्रह गरे ।

छलफलपछि समितिले बाढीपहिरोमा सरकारले देखाएको तदारुकतालाई धन्यवाद दिँदै राहत तीव्र पार्न निर्देशन दिएको छ । त्यसैगरी समितिले औषधिसहितको चिकित्सकको टोली बाढीपहिरोग्रस्त क्षेत्रमा पठाउन र समन्वय बढाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : २१ बजे