१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

प्रदेश सरकार गठनमा एमाले–नेकपाबीच तीन बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट



नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन र सञ्चालनका विषयमा तीन बुँदे सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार प्रदेश सभामा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँट पनि तय गरिएको छ। कोसी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।

त्यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ।

सहमतिपत्रमा हस्ताक्षरका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि उपस्थित थिए।

दुवै दलले पछिल्लो समय प्रदेश सरकारहरूमा देखिएको राजनीतिक अस्थिरता, बजेट निर्माणमा उत्पन्न असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण प्रदेश सञ्चालनमा देखिएका समस्या समाधान गर्न सहकार्य आवश्यक भएको निष्कर्ष निकालेका छन्। संयुक्त वक्तव्यमा जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यले सहमति गरिएको उल्लेख गरिएको छ।

यसैबीच, नेकपाका नेता वर्षमान पुनले प्रदेश सरकारमा देखिएको ‘डेडलक’ अन्त्य गर्न दुई दलबीच सहमति भएको बताएका छन्। उनका अनुसार सुरुमा नेपाली कांग्रेससहित तीन दलबीच प्रदेश सरकार गठनको प्रयास गरिएको भए पनि कांग्रेस सहमतिमा नआएपछि एमाले र नेकपाले मात्रै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन्।

पुनले प्रदेश सरकार गठनसम्बन्धी सहमति तत्काल देखिएको समस्या समाधानमा केन्द्रित रहेको स्पष्ट पारे। उनका अनुसार सुदूरपश्चिममा बजेट पारित हुन नसकेको, कर्णाली र बागमतीमा सरकार सञ्चालनमा समस्या देखिएको तथा केही प्रदेशमा राजनीतिक अस्थिरता बढेकाले ती समस्या समाधान गर्न सहमति गरिएको हो।

उनले केन्द्रमा भने नेपाली कांग्रेससँगको सहकार्य यथावत् रहने बताए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा संविधान, लोकतन्त्र तथा अन्य राष्ट्रिय मुद्दामा कांग्रेससँग सहकार्य निरन्तर रहने उनको भनाइ छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १० : २१ बजे