३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं– लिम्पियाधुरालार्ई नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट दिएका हुन ।

अहिले प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा उक्त नक्सा बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको नक्सा बनाउन आदेशको माग गरिएको छ ।

रिटमा नेपालको भूभाग एक लाख ४७ हजार १८१ वर्ग किमी छ । वर्तमान नक्सामा लिम्पियाधुरा क्षेत्र नहुँदा क्षेत्रफलसमेत घटेको हुनसक्ने हुँदा नेपालको भूभमगको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

संविधानमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको भए पनि सोअनुसार सरकारले ध्यान नदिएको निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ३७ बजे