२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

यसरी जुट्यो ओलीलाई सरकार र दाहाललाई पार्टी अध्यक्ष दिने सहमति



काठमाडौं– लामोसमयदेखिको नेकपाका दुई अध्यक्षबीच अधिकार र सत्ता साझेदारीका विषयको शक्ति संघर्ष अहिलेका लागि अन्त्य भएको छ ।

बुधबारको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अधिकार बाँडफाँडको विषय टुंगाएको हो ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पूरै कार्यकाल सरकार चलाउने र पार्टी अध्यक्ष दाहालले कार्यकारी भूमिकासहित पार्टीको नेतृत्व गर्ने निर्णय भएको छ ।

२०७४ फागुन ३ गते तत्कालीन बाम गठबन्धनको तर्फबाट ओली नेतृत्वको सरकार गठन भएको थियो। २०७५ जेठ ३ मा सरकार गठन भएको तीन महिनापछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। पार्टी एकतादेखि नै ओली र दाहालबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा मतभेद हुँदै आएको थियो।

विधानले दुवै अध्यक्ष बराबर हैसियतमा रहने भनिए पनि बैठक र निर्णयका सवालमा ओली प्रभावशाली थिए। बुधबारको निर्णयले अहिलेका लागि ओली र दाहालबीचको शक्ति संघर्ष टुंगिएको हो ।

बैठकले दुवै अध्यक्षको मर्यादाक्रम पुरानै राखे पनि बैठक सञ्चालन दाहालले गर्नेछन्। एक व्यक्ति एक पदको माग राख्दै आएका नेकपाका नेता माधवकुमार नेपालले पनि यो निर्णयमा सहमति जनाएका छन् ।

पछिल्लोपटक आफूहरूको कार्यविभाजन नटुंगिएसम्म अरू विषयमा छलफल नै नगर्ने अडान दाहालले लिँदै आएका थिए। त्यसले मन्त्रिपरिषद् हेरफेरमा समेत ढिलाइ भइरहेको थियो। पार्टी एकता गर्दा यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्रीमा आलोपालो सहमति भएको भनिदै आए पनि बुधबारको बैठकबाट त्यो विषय सकिएको छ।

सचिवालय बैठक बस्नु भन्दा अगाडि बुधबार दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास समेत पुगेका थिए। शितल निवासको छलफलमा कार्यविभाजन बारे सहमति जुटेको स्रोतले जनाएको छ । शितल निवासबाट फर्केपछि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैले कार्यविभाजनको प्रस्ताव गरेको थिए।

नेकपाको अन्तरिम विधानमा अध्यक्षद्वयको भूमिकाबारे ‘केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताका रुपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, पार्टीका नीति तथा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका निर्णयहरुको कार्यान्वयन गर्ने गराउने’ भनिएको छ ।

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुपूर्व पनि अध्यक्ष दाहालले पार्टी बैठक सञ्चालन गरेका थिए। पार्टी एकीकरण भएको डेढ वर्षसम्म पनि ओली र दाहालको भूमिकामै केन्द्रित थियो । केही महिना अघि दाहालले ओली र आफूबीच आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेयता दाहाल र नेपाल नजिकिएका थिए । सचिवालय सदस्यहरू झलनाथ खनाल र वामदेव गौतम पनि प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध उभिन थालपछि ओलीलाई दाहाललाई जिम्म्वारी दिने दबाव बढेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  २ : ५१ बजे