२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको देउवाको आरोप



पोखरा— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको अरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले शनिबार पोखरामा प्रधानमन्त्री ओलीप्रति यस्तो आरोप लगाएका हुन् ।

नेपाली कांग्रेस पोखराले शनिबार आगामी मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लक्षित गरेर आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू-भाग भारतको नयाँ नक्सामा समेटिएर मात्र सार्वजानिक भएको बताए । उनले भारतसँग ओलीको सम्झौता भएको हुन सक्ने बताए ।

‘भारतले हाम्रो प्रधानमन्त्री ओलीसँग नै सम्झौता गरेर मात्र नयाँ नक्सा बनाएको हो । यदि होइन भने नेपाली भू–भाग मिचिएको प्रष्ट हुदाँहुदै सरकारले किन पहल गर्दैन ?’ देउवाले भने । नक्सा सम्बन्धी छलफलको लागि पहल नगरेकाले नै भारतको नक्सामा ओलीको सहमति देखिएको उनको आरोप छ ।

देउवाले चुनावी सभामा ओली सरकारले जनताको ढाड सेक्ने गरी कर लगाएको पनि आरोप लगाएका थिए । ‘ओली सरकार भ्रष्टाचारी सरकार भयो,’ उनले भने, ‘जनतालाई उठ्नै नसक्ने गरी कर लगाउने र आफूहरुले कसरी भ्रष्टचार गर्ने भन्ने तर्फ नै ध्यान लगाए । जनताको दुःखलाई सम्बोधन गर्नुको सट्टा झन् खाडल खनेर पसाल्ने मात्र काम भयो । यसरी देश कसरी उभो लाग्छ ?’

सरकारले अहिले अनावश्यक रवैया देखाएको बताउँदै देउवाले उपनिर्वाचनमा ओली सरकारलाई चुनौती दिन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । सरकारले जनताविरोधी कार्यक्रम गरेको उनको भनाइ छ । उपनिर्वाचन कांग्रेसलाई मतदान गरे कम्युनिष्ट सरकारलाई थप भ्रष्टाचारी हुनबाट जोगाउन कांग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

कास्की २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् । पौडेलले जिते लोकतन्त्रकै जित हुने उनले बताए । वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराज मतदाताको रोजाइमा पनि परेको उनले बताए । उनले मतदाता रिझाउँदै रुखमा भोट आउनेमा ढुक्क रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ११ बजे