५ असार २०८१, मंगलबार | Tue Jun 18 2024

दामनको रिसोर्टमा बेहोस आठ भारतीय पर्यटकको मृत्यु



काठमाडाैं– मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ भारतीयको मृत्यु भएको छ।

हेलिकप्टरबाट काठमाडाैं ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेको बताए।

सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

रिसोर्टका कोठामा सोमबार राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बसेका थिए । पोखराबाट सोमबार साँझ उनीहरु उक्त रिसोर्टमा बास बस्न आएका थिए ।

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १ : ११ बजे