३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

एमसिसी बारे कमल थापाले भने– ‘नेपालको हितमा’



रुपन्देही– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ,’ उनले भने ।

उनले एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने बताए ।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसके पनि पाँच वर्षसम्म कायमै रहने बताए । ‘विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन । जनतालाई स्थिर सरकार चाहिएको छ,’ उनले भने ।

विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गरे । उनले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राखे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ०३ बजे