१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

बाँस्कोटाको अडियो प्रकरण अख्तियारले छानबिन गर्छ : अध्यक्ष दाहाल



जनकपुर— नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । उनले त्यो प्रकरणसँग जोडिएका हरेक विषयमा सम्बन्धित सबैको छानबिन हुने दाबी पनि गरे ।

आइतबार धनुषाको ठेरा कचुरीमा १५ दिने माध्यमिकी परिक्रमाको शुभारम्भ समारोहमा सहभागी भएका नेकपा अध्यक्ष दाहालले प्रदेश २ को सरकारमा सहभागी हुन समाजवादी र राजपासँग छुट्टाछुट्टै कुरा भइरहेको पनि बताए । ‘दुवै पार्टीसँग कुरा चलिरहे पनि सरकारमा सहभागी हुने मिति तोक्ने स्थिति अहिले छैन,’ दाहालले भने ।

राजीनामा गरिसकेका सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाको प्रसंग झिक्दै नेकपाका अध्यक्ष दाहालले सत्तामा हुँदा कम्युनिष्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको बताए ।

तीन दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्युनिस्टको चरित्रबारे दाहालले बोलेको कुराको प्रष्टीकरण समेत दिए । उनले सत्तामा हुँदा कम्यूनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकवपाको बारेमा मात्र कुरा गरेको प्रष्टाए ।

‘कम्मुनिस्टहरु संघर्ष गर्दासम्म राम्रो । सत्तामा पुगेपछि नराम्रो हुने रोग विश्वभरि लाग्या छ,’ दाहालले भने, ‘हामीले त्यो रोगको उपचार गर्नैपर्छ भनेर अपिल गर्न खोजेका हौं । हामी कहाँ पनि अलिअलि त्यो रोग देखा पर्न खोजिरहेको छ । त्यही बेला सञ्चारमन्त्रीको कुरा आयो । त्यस कारण त्यो सन्दर्भमा पार्टीलाई सर्तक गराउन भनेको हुँ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : १० बजे