१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

नेपालमा भव्य बन्यो ग्याल्पो ल्होसार



  • राज्यले समान व्यवहार नगरेसम्म संघर्ष : पूर्वप्रधानमन्त्री भट्टराई 
  • शेर्पा राज्य प्राप्तिका लागि लागौं : पूर्वराजदूत शेर्पा
  • डेढ लाख आदिवासीले मनाउने चाडमा किन बिदा नपाउने ? : जनजाति महासंघका पूर्वमहासचिव शेर्पा

काठमाडौं । नेपालका आदिवासी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सोमबार काठमाडौंको हायत चउरमा विशेष समारोह आयोजना गरी २१४७औं ग्याल्पो ल्होसार मनाएको हो । समारोहको पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले उद्घाटन गरेका थिए । शेर्पा समुदायले यस वर्ष बराह वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरे । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो राष्ट्रिय चाड प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइन्छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ । यस वर्ष पनि हायत परिसरमा फागुन १० र ११ गते ल्होसार गुथुक साँझ पनि आयोजना गरियो । कार्यक्रममा कलाकाहरु बसुन्धरा भुसाल, दिपाश्री निरौला लगायत सहभागी थिए । औपचारिक कार्यक्रमअघि शेर्षा र सहभागीहरुले जातीय पहिचान झल्कने भेषभूषा, तुल, व्यानर र विभिन्न कला प्रदर्शनसहित सहर परिक्रममा गरेका थिए ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । यस अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले शेर्पा भाषाको वक्तृत्वकला प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितामा १२ कक्षामा अध्ययनरत १३ विद्यार्थीले भाग लिएको केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

यसै अवसरमा हास्य कलाकार साम्दे शेर्पाको स्मृतिमा स्थापना गरिएको साम्दे शेर्पा स्मृति कोषले तीन जना कलाकारलाई पुरस्कार वितरण गरेको छ । पूर्वप्रधानमन्त्री डा भट्टराईले साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार कलाकार ध्रुवरत्न हाडा, साम्दे शेर्पा स्मृति नवप्रतिभा पुरस्कार कलाकार दीपाश्री निरौला र साम्दे शेर्पा स्मृति पुरस्कार कलाकार आङफुर्वा शेर्पालाई वितरण गरेका थिए ।

पुरस्कारको राशि क्रमशः ३१ हजार १००, ११ हजार १०० र १० हजार १०० रुपैयाँ एवं सम्मानपत्र छ । पुरस्कार हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराई, सांसद जीपछिरिङ लामा, अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, नेता आङकाजी शेर्पा लगायतले शेर्पा जातिको संस्कृति र संस्कार संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

ग्याल्पो ल्होसारका अवसरमा नयाँ कपडा फेरेर ठूलाबडाबाट आशीर्वाद लिने गरिन्छ । फागुन शुक्ल पूर्णिमासम्म मनाइने पर्वको दोस्रो दिन गुरुकहाँ गएर आशीर्वाद लिने गरिन्छ भने तेस्रो दिन बौद्धमा शेर्पा संस्कृति झल्कने गरी विशेष र्‍याली निकाल्ने चलन छ । ग्याल्पो ल्होसारको अवसरमा बुधबार शेर्पा सेवा केन्द्रमा स्याब्रु नाच र लामाहरुको नाच देखाइएको थियो ।

समारोहमा कसले के बोले ?कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले सबै जाति, समुदायलाई समान व्यवहार नगरेसम्म संघर्ष जारी रहने बताएका छन् । ‘सबै नेपालीको साझा नेपाल बनाउन चाहन्छु । हिमाल, पहाड तराई जोड्न चाहन्छु । सुन शासक हो’, उनले चेतावनी दिँदै भने, ‘बाबुराम भट्टराई यी दमित, उत्पीडितको पक्षमा तिमीहरुविरुद्ध फेरि विद्रोहमा उत्रिने छ । अनि थाहा पाउने छौं, के हुनेछ तिमीहरुको हबिगत ।’ उत्पीडित समुदायको लडाइँ बराबरी हैसियतका लागि भएको उल्लेख गर्दै समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले कुकुर, गाई, गोरुलाई सरकारले छुट्टी दिएको र मान्छेले मनाउने चाडपर्वमा छुट्टी नदिनु २१ औं शताब्दीमा सह्य हुने कुरा नभएको बताए । उनले आदिवासी जनजातिका पर्वमा छुट्टि नदिए अन्य बिदा घटाउन सुझाए ।

पूर्वप्रधानमन्त्री भट्टराईले शेर्पाहरुले नेपाललाई विश्वमा चिनाएको भन्दै युरोपतिर नेपाललाई शेर्पाका देश भन्ने गरेको बताए । ‘शेर्पाको देश भनेर नेपाललाई चिन्छ अनि त्यही शेर्पाको संस्कृतिलाई मान्यता दिनुहुन्न । अरुको अस्तित्व स्वीकार्न नसक्ने । आप्mनो संस्कृतिबाहेक अरुको संस्कृति स्वीकार नगर्ने अनि भन्ने सबभन्दा बढी लोकतान्त्रिक मै हुँ र साम्यवाद पनि हुँ’, उनले भने, ‘यस्तो बिडम्बनापूर्ण अवस्था २१औं शताब्दीमा हामीले भोग्दैछौं । संसारमा विज्ञानले प्रगति गरिसकेको छ । केही मानिसले अहंकार देखाइहेको छ ।’

यस्तै अस्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत लक्की शेर्पाले शेर्पा राज्य प्राप्तिका लागि सांस्कृतिक रुपमा लाग्नुपर्ने बेला भएको बताइन् । उनले हिमालका शेर्पाहरु आन्दोलित भएमा राज्यले थाम्न नसक्ने चुनौती दिइन् । ‘सबैजना हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ  । जब आन्दोलनको आँधीबेहरी हिमालमा चर्कन्छ । तब राज्यले थाम्न सक्दैन’ उनको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले सात प्रदेश विभाजन हुँदाखेरी शेर्पाहरुको ऐतिहासिक थलो पूर्वको ताप्लेजुदेखि सोलुखुम्बुसम्मको भूभाग प्रदेश नम्बर १ र सोलुखुम्बुदेखि यता रसुवासम्म प्रदेश ३ वाग्मतीमा पार्दा आफूहरु खण्डित भएको भन्दै आपत्ति प्रकट गरे । उनले राजा महेन्द्रको पालामा शेर्पाहरुलाई १९ वटा जिल्लामा खण्डित गरेको उल्लेख गर्दै अहिलेको राज्यले पनि गड्यौला छिनालेजसरी टाउको एकातिर, पुच्छर अर्कोतिर पारेको बताए । उनले शेर्पाहरुको ऐतिहासिक बासस्थानलाई एउटै प्रदेशमा राख्न माग गरे । ‘शेर्पाहरुलाई कि प्रदेश १ मा राखियोस्, कि ३ (वाग्मती)मा राखियोस्’, उनको माग थियो, ‘हाम्रो पहिचान र आफ्नो क्षेत्रबाट शेर्पा निर्वाचित हुने कुराबाट हामीलाई बञ्चित नगरियोस् ।’

प्रजातन्त्र बहालीपछि नेपालका डेढ करोड आदिवासी जनजातिहरुले आफ्नो चाडपर्वहरुमा प्राप्त सार्वजनिक बिदा सरकारले कटौती गरेकोले सारै दुःख लागेको उनले गुनासो गरे । ‘गाईको नाममा  बिदा पाउने, कुकुरको नाममा बिदा पाउने, कागको नाममा बिदा पाउने, जनै फेर्न बिदा पाउने’, नेता शेर्पाको प्रश्न थियो, ‘डेढ लाख आदिवासीले मनाउने चाडमा किन बिदा नपाउने ? त्यसैले यसमा एकदिनको होइन तीन दिनको बिदा घोषणा हुनुपर्छ ।’

आदिवासी जनजातिका चाडपर्वमा राष्ट्रपति विद्यादेवी भण्डारी निमन्त्रणा दिँदा पनि सहभागी नहुने गरेकोमा उनले आपत्ति प्रकट गरे । ‘घोडाको जात्रामा राष्ट्रपति आउनुहुन्छ, भाङधतुरो खाने चाडमा राष्ट्रपति आउनुहुन्छ,’ उनको तर्क थियो, ‘नेपाललाई चिनाउने हिमाली आदिवासी शेर्पाहरुका चाडपर्वहरुमा राष्ट्रपतिलाई निम्तो दिँदाखेरी यस्तो जातिको आउन मिल्दैन भन्नुहुन्छ, उहाँ एउटै जातिको मात्रै राष्ट्रपति हो ?’

शेर्पा लगायतका सांस्कृतिक पर्वलाई अब राजनीतिक क्रान्तिको रुपमा अगाडि लानुपर्नेमा जोड दिँदै समाजवादी पार्टीका नेता शेर्पाले अब शेर्पाहरुले आप्mनो ल्होसार, तामाङ र गुरुङहरुले आफ्नो ल्होसार, मगरहरुले माघे संक्रान्ति, थारुहरुले छठ जितिया पर्व धुलाम्मे हायात चउरमा नभइ हिन्दु धर्मकाले चाड मनाउने सैनिक मञ्चमा मनाउन पाउनुपर्ने माग गरे । उनले हिन्दुका दसैं, तिहारमा जसरी आदिवासी जनजातिका चाडपर्वमा राज्य कोषबाट सहयोग उपलब्ध गर्नुपर्ने माग गरे ।

के हो ल्होसार, कसरी मनाइन्छ ? 

ल्होसार भनेको नयाँ वर्ष भन्ने हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । नेपाल बौद्ध महासंघका आचार्य नुर्बु शेर्पाका अनुसार शेर्पाहरुले दुई चरणमा ल्होसार मनाउने गर्दछन् । पहिलो चन्द्र पात्रोअनुसार १२ औं महिनाको कृष्ण पक्षको चर्तुदशीको दिन गुथुक खाने चलन छ । वर्षभरि जीवनमा घटेका घटनाहरु पुनः नदोहोरियोस् भनेर विभिन्न गुम्बाहरुमा भने लामाहरुले पाठपूजा गरेर मान्छेको स्वरुप जस्तो बनाएर गुथुक फाल्ने चलन छ । गुथुक मन्साइसकेपछि समग्र परिवार नौ प्रकारको प्रतीक राखेको थुक्पा खाने चलन छ ।

भोलिपल्ट औंशीको दिन घर सफा गर्ने, रंग्याउने । गाउँघरमा हो भने अष्टमंगलको चिह्न घरमा सेतो अस्तु लगाउने गरिन्छ । ल्होसारका लागि टसिदेले (शुभकामना) लेख्छौं । चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिनको तयारीस्वरुप रातभर घरहरुको सजावट सिध्याइन्छ ।
पहिलो महिनाको पहिलो दिन बिहान गाउँमा सबै मान्छेहरु धाराबाट पानी ल्याएर घरघरमा पूजा गरिन्छ । ल्होसारको पहिलो दिनलाई गुरुको ल्होसार भनिने चलन छ । त्यो दिन शिक्षादीक्षा दिने । गुरुहरुको घरमा गएर आशीर्वाद लिने । गुरुहरुलाई खानेकुरा, दान दक्षिण चढाउने प्रचलन शेर्पा समुदायमा छ ।

दोस्रो दिन बुवा आमाको ल्होसार भनिन्छ । त्यो दिन छोराछोरीले बुबाआमासँग आशीर्वाद लिने र बुबाआमालाई खानेकुरा, लत्ताकपडाहरु उपहार दिने चलन छ ।

तेस्रो दिन आफूले मान्दै आएको स्थानीय देवीदेवतालाई पाठपूजा गरिन्छ । यो दिन विभिन्न ठाउँमा कार्यक्रम हुन्छ । गाउँका गन्यमान्यहरुलाई भेटघाट गर्ने, उनीहरुहरलाई भेट्ने, आशीर्वाद लिने र उपहार दिने प्रचलन छ । चौथो दिनदेखि १५औं दिनसम्म शेर्पाहरु विभिन्न ठाउँमा पिकनिक जाने, नातागोतामा शुभकामना आदान प्रदान गर्नका लागि विभिन्न भोजभतेरहरु आयोजना हुन्छन् । परिचित साथीभाइहरुको घरमा निमन्त्रणा दिएर भोजभतेर खाने चलन छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : २९ बजे