कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखबीच आज ‘भिडियो कन्फरेन्स’ हुने

२०७६ चैत्र २, आईतवार १०:४९

काठमाडौँ — दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस बारे छलफल हुने भएको छ ।

कोरोनाविरुद्ध रणनीति बनाउन सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार साँझ सवा ५ बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रुम’ बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ ।

सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुने भएको हो । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण कामविहीन बनेको सार्कपछिल्लो समय निष्क्रिय भएको थियो । यी दुई देशको द्वन्द्वका कारण पाकिस्तानमा हुने भनिएकोसार्कको१९ औंशिखर सम्मेलन पनि हुन सकेको थिएन ।

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा पनि बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा लड्‍नुपर्ने प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावको नेपाल, भुटानलगायत देशले सुरुमा नै स्वीकार गरेका थिए । पाकिस्तानलेभनेशनिबारमात्रै उक्त प्रस्ताव स्वीकारेको थियो ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्रै बालुवाटार फर्किएका हुन् । उनी उपचारको क्रममा १२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज बसेका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि ओली पहिलो पटक प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार छिर्न लागेका हुन्।

सम्बन्धित समाचार