काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ९४३ काठमाडौं उपत्यकाका छन् । यो हालसम्मकै उच्च संख्या हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।
जसमा काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस सङ्क्रमण निको भई घरफर्किनेको सङ्ख्या ९६१ जना रहेको छ । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ रहेको छ जसमा १० पुरुष र एक महिला छन् । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ५०९ पुगेको छ ।
मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २१ हजार ८३० जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा१० हजार ७६१ छन् । मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जनाभेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।









