२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

दोस्रो चरणको कोरोनाबिरुद्धको खोप अभियान शुरु, प्रधानमन्त्री र मन्त्रीले लगाए



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान नेपालमा आइतवारदेखि शुरु भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

प्रधानमन्त्री र मन्त्रीले लगाए खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल।

उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेका थिए ।

खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरेका छन् । उनले खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले खोप लगाएर आफूलाई कुनै पनि नकारात्मक असर नपरेको पनि जानकारी दिए । गृहमन्त्री रामबहादुर थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ।
अर्थमन्त्री विष्णु पौडेल।
मन्त्री लेखराज भट्ट ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : २२ बजे