२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

नेपालको विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग



काठमाडौँ । नेपालमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि सरकारले गरेको आग्रह अनुसार विभिन्न मित्र राष्ट्रहरुबाट सहयोग जुटेको छ । कतिपय सहयोग आइसकेको छ भने कतिपय आउने क्रममा रहेको छ ।

त्यसैगरी विभिन्न देशमा कामका सिलसिलामा रहेका वा बसोबास गर्ने नेपालीहरुले पनि सहयोग जुटाएर पठाउने गरेको छ ।

यही सिलसिलामा हालसम्मकै सबैभन्दा धेरै सहयोग चीन सरकारको तर्फबाट भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना महामारी नियन्त्रणका लागि आग्रह गरेपछि तत्काल १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराइएको छ । मंगलबार र बुधबार गरेर ती खोपहरु ल्याइ सकेका छन् भने जेठ २५ गतेदेखि लगाउन सुरु गर्ने तालिका तय गरिएको छ । चीन सरकारले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो । नेपालले उक्त खोप खरिदको लागि पनि सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

यसअघि भारतले पनि १० लाख डोज खोज अनुदान उपलब्ध गराएको थियो भने अरु दश लाख किनेर ल्याइएको थियो । त्यस्तै कोभ्याक्सबाट पनि ३ लाख ८० हजार डोज खोप प्राप्त भएको थियो । पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि खोप उपलब्ध गराएको छैन ।

भारतबाट खोप आउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उत्पादन गर्ने देशहरु भारत, अमेरिका, बेलायत र रुसका राष्ट्रप्रमुखलालाई पहल गरी खोप ल्याउनका लागि पहल गरेकी छन् ।

त्यसैगरी नेपालले चीनकै सिचुवान प्रान्त र स्वशासित क्षेत्र तिब्बतबाट पनि स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त गरेको छ ।

त्यस्तै नेपालले बु्धबार मात्र फ्रान्सबाट विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको छ भने यूएइबाट पनि स्वास्थ्य सामाग्रीहरु बिहीबार आइपुगेको छ । अमेरिकाले यसअघि नै दुई पटक स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप पठाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललाई बेल्जियम, जर्मनी, बेलायत, जापानलगायतका देशबाट पनि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

सहयोगमा बिशेष गरेर अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, पीपीइ, मास्क आदि उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ५१ बजे