काठमाडौँ । सर्बोच्च अदालतको परमादेशबाट नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा १६५ जनाले मत प्राप्त गरेका हुन् ।
सभामुख अग्नि सापकोटाका अनुसार देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
सभामुख सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन् ।
विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिएका हुन् ।
ओली पक्षको पनि मत
एमाले अध्यक्ष केपी ओलीले देउबालाई मतदान गर्नबाट आफ्नै पक्षमा रहेका सांसदहरुलाई समेत जोगाउन सकेनन् । देउवालाई मत दिनेमा माधवकुमार नेपाल पक्षका मात्र होईन ओली पक्षका सांसदहरुसमेत रहे । यसरी मत दिने एमाले सांसदमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।