जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

२०७९ असार २०, सोमबार १७:०६

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका हुन् । जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो ।

जसपाको कार्यकारिणी समितिका अध्यक्ष यादव र स‌ंघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद चुलिएको बेला मन्त्रीहरु फेरबदल गर्ने कार्य भएको हो ।

सम्बन्धित समाचार