मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिएका हुन् । उनले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए ।
आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाको भनाइ छ । बलात्कारपछि गर्भवती भएकी उनी त्यसयता निरन्तर न्यायको लडाइँमा छिन् ।
श्रेष्ठलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि त्यसविरुद्ध उनले अहिले उच्च अदालत, जनकपुरमा मुद्दा दर्ता गराएकी छन् ।