काठमाडौंमा पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्यासित चुनावी परिणाम ल्याएका छन् । एमाले–कांग्रेसले आफ्नो परम्परागत आधार मान्दै आएको राजधानी उपत्यकामा देखिएको यो अप्रत्यासित नतिजाले दलहरुसँग सहरी मतदाता कति रुष्ट छन् भान्ने देखाउँदछ ।
पाँच महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् ।
यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका बहालवाला मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भए । स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अन्य स्थानहरुमा पनि उल्लेख्य मत पाएका छन् ।