२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

एमालेको अभियान कसैको विरोधमा नभएको ओलीको भनाई



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको पहिलो सभालाई ओखलढुंगाको हर्कपुरमा सम्बोधन गरेका छन् ।

बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग समृद्धि अभियान मंगलबार कोशी प्रदेशमा प्रवेश गरेको छ । सिन्धुलीको खुर्कोटबाट एमालेको अभियान कोशी पुगेसँगै पहिचानवादीको विरोध झेल्नुपर्ने चुनौती आएको छ ।

यस्तोमा ओलीले पहिचानवादीहरूलाई लक्षित गर्दै आफूहरू कसैको विरोधमा नरहेको उल्लेख गरेका छन् । ‘हामी कसैको विरोधमा छैनौँ, हामीले कसैको चित्त दुखाउनु पनि छैन’, उनले भने, ‘हामीले यो कठिन यात्रा २ हजार किलोमिटर हिँडिसकेका छौँ । हाम्रो उद्देश्य देश जाग्नुपर्यो, जनता जाग्नु पर्यो भन्ने हो । यो कसैका विरुद्ध होइन ।’

ओलीले यो अभियान देश र जनता तथा विकासका पक्षमा भएकाले यसलाई लिएर कसैले चित्त दुखाउनु आवश्यक नभएको पनि बताए ।

कोशीमा एमाले टोली छिरेलगत्तै पहिचानवादीहरू बन्दसहितका कार्यक्रम गरेर अवरोध प्रयास गरिरहेका छन् । बन्द गर्दै हिँड्ने पहिचानवादीमाथि प्रहरीले धरपकड पनि जारी राखेको छ ।

उनले मिसन ०८४ यस देशका लागि आवश्यक रहेको बताए । ‘मिसन ०८४ एमालेलाई होइन, देशलाई चाहिएको हो । सवल राष्ट्रिय शक्तिका लागि एकल बहुमत हुनुपर्छ । बहुमतबिना देशले समृद्धि हासिल गर्न सक्दैन’, उनले भने, ‘अफ्ठ्यारोमा परेको देशलाई हामी सजिलोमा निकाल्छौँ । सबैजनाले एकतावद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।’

ओलीले पहिचानवादीहरूलाई भावनामा नबग्न पनि अपिल गरे । ‘अनावश्यक भावनामा कोही बग्नु हुँदैन । जनताबीचमा फाटो ल्याउनु हुँदैन’, उनले भने, ‘राजनीतिक विचारमा मतभेद हुन सक्छ । तर ती मतभेदको समाधान वैधानिक प्रक्रियाबाट गरौँ, शान्तिपूर्ण रुपमा गरौँ, आवेश र उत्तेजनाबाट होइन ।’

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ५९ बजे