६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आउँदै



भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन् । उनी समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ । उनलाई त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन् ।

जयशंकरले बिहीबारदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन् । उनले बिहीबार सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् ।

त्यसपछि बिहीबार मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने भएका छन् । बिहीबार दिउँसो होटल याक एन्ड यतीमा ‘संयुक्त आयोगको बैठक’ तय गरिएको छ । जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुनेछ ।

उक्त बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्नेछन् । बिहीबार साँझ ६ बजे समकक्षी जयशंकरका लागि परराष्ट्रमन्त्री साउदले दिवाभोज कार्यक्रम राखेका छन् ।

विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यतालिका छन् । विदेशमन्त्री जयशंकर शुक्रबार मध्यान्ह भारतीय राजधानी नयाँदिल्ली फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ४१ बजे