न्याय परिषद्ले खराब आचरणको आरोप लागेका एक उच्च र एक जिल्ला गरी दुईजना न्यायाधीशलाई बर्खास्तगीका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठसमक्ष सिफारिस गरेको छ ।
न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तगीका लागि सिफारिस गर्ने निर्णय लिएको हो । अर्का न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ । उनी इच्छाराज तामाङको मुद्दामा कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ घुस डिल गरेको अडिओ टेपका कारण विवादमा परेका थिए ।
न्याय परिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो । न्यायाधीश परशुराम भट्टराईले भने छानबिन चलिरहेकै बेला माघ ७ गते नै राजीनामा दिएर बाहिरीएका थिए।
बर्खास्तीमा परेका न्यायाधीश थपलिया पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोपमा मुछिएका थिए । न्याय परिषद्ले गत पुसमै न्यायाधीश थपलियाको जिम्मेवारी खोसेको थियो ।
उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा तानिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले थपलियालाई न्याय परिषद्मा तान्ने निर्णय गरेका थिए । थपलियालाई तत्कालीन प्रधानन्यायाधीश राणा नेतृत्वको न्यायपरिषद्ले २०७५ चैत १९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख छ ।
उता निरौलाले काठमाडौँ जिल्ला अदालतमा रहँदा भ्याली कोल्ड स्टोरका सञ्चालक हरिबहादुर रावलका छोरा बाबुराजालाई अपहरण गरी फिरौती लिने समूहका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई अस्वाभाविकरूपमा सफाइ दिएका थिए । मिटरब्याजीका पक्षमा फैसला गरेर पनि उनी विवादित भएका थिए ।