१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

त्रिभुवन विमानस्थलबाट भन्सार पार भइसकेको पौने चार किलो सुनसहित चार उज्बेक नागरिक पक्राउ



 बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीहरूले भन्सारवपार भइसकेको ३ किलो ७४५ ग्राम सुनसहित चार उज्बेकिस्तान नागरिकलाई पक्राउ गरेका छन्। पक्राउ परेका व्यक्तिहरूमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन्।

फ्लाई दुबईको एफजेएड ५७५ विमानबाट अन्य यात्रुसँगै काठमाडौं आएका उनीहरू विमानस्थलको अध्यागमन र भन्सार जाँच पास गरी बाहिरिएपछि मात्र सुरक्षाकर्मीहरूको शंका पुगेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, विमानस्थलको टर्मिनल गेटमा उनीहरू आइपुगेपछि मात्रै सुरक्षाकर्मीहरूले थप जाँच गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएका थिए।

पक्राउ परेका चारै जनाको शारीरिक परीक्षण गर्दा उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएको खुलेको हो । प्रहरीका अनुसार, सुनलाई गालेर साना गोलाकार गुच्चा बनाइएर शरीरभित्र लुकाइएको थियो। उनीहरूबाट जम्मा २४ वटा साना गुच्चा बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, पक्राउ परेका तीन महिला भरिया मात्र रहेको र उनीहरूलाई मुख्य योजनाकार सरदार तुर्सुनोभले प्रयोग गरेको देखिएको छ। उनीहरू नेपाल घुम्न पाउने र केही रकम पाउने प्रलोभनमा पारेर सुन तस्करीका लागि प्रयोग गरिएको प्रहरीको दाबी छ।

प्रहरीले बरामद सुन नेपाल हुँदै तेस्रो मुलुक पठाउने योजनामा रहेको आशंका गरेको छ। भारतलाई ट्रान्जिट बनाएर सुन अन्यत्र लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ।

प्रहरीले बरामद सुन र पक्राउ परेका चारै जनालाई भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको छ। भन्सार छली तथा चोरी पैठारीसम्बन्धी अनुसन्धान भन्सार विभागको कार्यक्षेत्रमा पर्ने भएकाले आवश्यक कारबाहीका लागि उनीहरूलाई भन्सारलाई जिम्मा लगाइने एसएसपी राठौरले जानकारी दिए।

डेढ वर्षअघि २०८० साउनमा ब्रेक प्याडमा लुकाएर सुन तस्करी भएको घटना सार्वजनिक भएपछि विमानस्थल हुँदै ठूला परिमाणमा सुन तस्करीका घटना कम भएका थिए। पछिल्लो समय भने साना परिमाणमा सुन तस्करी भइरहे पनि यो घटनाले फेरि ठूलो परिमाणमा सुन तस्करीको क्रम बढ्न सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : १३ बजे