सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि उर्जा तथा जलस्रोत मन्त्रालयले पटकपटक स्पष्टीकरण सोधेकोमा बुधबार मन्त्रिपरिषद्को बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।
यसअघि ऊर्जा मन्त्रालयले कुलमानसँग पाँचपटक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने कार्य गरिसकेको छ । कुलमानलाई हटाउने प्रयासमा रहेका ऊर्जामन्त्री दीपक खड्काले विभिन्न समिति र आयोग बनाएर पनि उनीमाथि छानबिन गर्न खोजेका थिए । ती कुनै पनि छानबिन र स्पष्टीकरणका आधारमा कुलमानलाई हटाउन नसकेपछि मन्त्रालयले मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने प्रस्ताव अघि बढाएको हो ।
कुलमानलाई पदबाट हटाउनकै लागि कार्यसम्पादन मूल्यांकनमा मन्त्रालयले शून्य अंक दिएको थियो । कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गर्दै मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिएको हो । बुधबार नै एक कार्यक्रममा कुलमानले आफू जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम समयसम्म काममा खटिरहने बताएका थिए ।
मन्त्रिपरिषद्मा गएको प्रस्तावबारे जानकार रहेका उनले बुटवलको एक कार्यक्रममा भनेका थिए, ‘हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिराछौँ । राष्ट्रिय जिम्मेवारी लिएर काम गर्दाखेरी जतिसुकै स्पष्टीकरण खानुपरे पनि एक घण्टा भएपनि काम गर्ने ताकत, ल्याकत राख्नुपर्छ ।’









