२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

हिंसात्मक प्रदर्शनमा सहभागिताको आरोपमा थप १८ जना



काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ गर्ने क्रम जारी छ । यही सिलसिलामा मंगलबार थप १८ जना पक्राउ परेका छन् ।

राज्य विरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा ८ र उपद्रव कसुरमा १० गरी १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । राज्य तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ का ४९ वर्षीय कुमार बस्नेत, सुनसरी इटहरी उपमहानगरपालिका- ६ का ५५ वर्षीय अनिलकुमार थापा, झापा कमल गाउँपालिका-३ का ४६ वर्षीय तारानाथ बोहरा, दमक नगरपालिका-७ का ४३ वर्षीय दानबहादुर न्यौपाने छन्।

त्यस्तै, सोही कसुरमा दमक नगरपालिका-७ का ३८ वर्षीय उमेश तामाङ, ३९ वर्षीय भानुभक्त पौडेल, ललितपुर महानगर-७ का ४० वर्षीय विष्णुजंग बस्नेत र काठमाडौं महानगरपालिका-९ का ४३ वर्षीय देवीप्रसाद संग्रौला पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१३ का ४१ वर्षीय लोकबहादुर बस्नेत, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ का सरिता केसी, झापा बुद्दशान्ती गाउँपालिका-४ का सितादेवी राई, भारत घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २० वर्षीय रबिरन्जनकुमार सिंह, धनुषा ढल्केवार नगरपालिका-६ का १९ वर्षीय आशिककुमार महतोलाई अपराधिक उपद्रव कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सर्लाहीका २३ वर्षीय प्रेमकुमार सिंह, सिराहा लहान नगरपालिका-२ का २० वर्षीय राधेश्याम यादव, सप्तरी बलानविहुल गाउँपालिका-२ का १८ वर्षीय वरण यादव, सर्लाही रामनगर गाउँपालिका-२ का १८ वर्षीय गोबिन्द राय र सिन्धुपाल्चोकका २७ वर्षीय दिनेश खड्कालाई पक्राउ गरिएको हो।

उनीलाई मंगलबार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली र ७४६ राउण्ड अश्रुग्यास प्रहर

शुक्रबार तीनकुने र आसपासमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले ६० राउन्ड गोली र ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । गोली हवाई फायरदेखि घुँडामुनि भन्दै हानेको बताइएको छ ।

त्यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको बताइएको छ । त्यस्तै १९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरीको भनाई छ । यसमा गोलीको जस्तो आवाज मात्रै आउछ तर गोली हुँदैन ।

कार्टिज (छर्रा) भने २३९ पटक प्रहार भएको थियो । उक्त प्रदर्शनमा नेपाल प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ४९ बजे