अमेरिकाले हालसम्मकै सबैभन्दम धेरै नेपालीलाई डिपोर्ट गरेका छन् । आइतबार एकै दिन ३७ जना नेपालीहरू अमेरिकाले चार्ट विमानमा हालेर काठमाडौं ल्याइ छाडेको छ ।
नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान आइतबार साँझ अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।
भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । यसअघि पनि पटक पटक नेपालीलाई फर्काए पनि एकै पटक यतिका संख्यामा पठाएको पहिलो पटक हो ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ ।
डिपोर्ट हुनेहरूलाई अध्यागमन विभाग हुँदै प्रहरीको मानव वेचबिखन व्यूरोमा पठाइने छ । त्यही प्रहरी उनीहरुसँग सोधपुछ गर्नेछ । यदी कसैलाई दलाल पठाएको ठगेको पाइको अबस्थामा उजुरी हाल्नको लागि पनि प्रोत्साहित गरिने छ ।
अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको थियो ।









