३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

टेक्सासमा टेस्लाको रोबोट्याक्सी सुरुआत, चालकविहीन सवारी सेवामा नयाँ युगको आरम्भको दावी



अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरमा आइतबार टेस्लाले आफ्नो लामो समयदेखि प्रतिक्षामा रहेको रोबोट्याक्सी सेवा पहिलोपटक सडकमा परीक्षणका रूपमा सञ्चालन गरेको छ । कम्पनीले सार्वजनिक गरेको भिडियोहरूमा आमन्त्रित केही विश्लेषक, प्रभावशाली व्यक्ति (इनफ्लुएन्सर) र शेयरधनीहरूलाई उक्त सेवामा सहभागी गराइएको देखिन्छ ।

हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएका केही सवारी साधनहरूमा सुरक्षा उपाय स्वरूप एक जना मानव सहचालक सिटमा बसेको उल्लेख गरिएको छ ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले यो सुरुआतलाई “एक दशक लामो कठिन परिश्रमको फल” भन्दै टेस्लाको आर्टिफिसियल इन्टेलिजेन्स र चिप डिजाइन टोलीलाई बधाई दिएका छन् । उनका अनुसार टेस्लाका चिप र सफ्टवेयर विकास टोलीहरू पूरै टेस्लाभित्रै तयार पारिएको हो ।

मस्कले केही दिनअघि रोबोट्याक्सी सवारीको भाडा “४.२० डलर फ्ल्याट शुल्क” हुने भन्दै व्यंग्यात्मक ट्वीट गरेका थिए । यद्यपि हाल सञ्चालनमा ल्याइएका सवारीहरू टेस्लाका परम्परागत गाडीहरू नै हुन्, जसमा सानो “रोबोट्याक्सी” लोगो मात्र राखिएको छ । टेस्लाको चर्चित “वी, रोबोट” कार्यक्रममा सार्वजनिक गरिएको भविष्यको साइबरक्याब भने हालको फ्लीटमा सामेल गरिएको छैन ।

टेस्लाको यो ‘लो–की’ सुरुआतसँगै कम्पनीले अमेरिकी र चिनियाँ बजारमा अगाडि रहेका अन्य चालकविहीन सवारी सेवाहरूलाई टक्कर दिने तयारी गरेको संकेत दिएको छ । गूगलको मातृ कम्पनी अल्फाबेटको स्वामित्वमा रहेको वाइमो र अमेजनको जुक्सलगायतका कम्पनीहरू हालै अष्टिन, फिनिक्स र सनफ्रान्सिस्कोमा स्वचालित ट्याक्सी सेवा दिइरहेका छन् ।

विश्लेषक पॉल मिलरका अनुसार टेस्लाले आफ्नो क्यामेरामा आधारित सस्तो प्रविधि, ठूलो मात्रामा उत्पादन हुने गाडी र एकत्रित डेटाको भरमा प्रतिस्पर्धीलाई पछि पार्ने दाबी गरे पनि, यसमा अझ धेरै प्रगति आवश्यक देखिन्छ ।

टेस्लाको पूर्ण स्वचालित प्रणालीमाथि अमेरिकी नियामक संस्थाहरूले सुरक्षासम्बन्धी अनुसन्धान गरिरहेका छन् । साथै, यो प्रणालीले अपेक्षित सफलता नदिएमा, टेलिअपरेटिङ्ग (दूर नियन्त्रित) चालकहरूको सहयोगमा सेवा सञ्चालन गर्नुपर्ने सम्भावना देखिएको छ, जसले खर्च बढाउने छ ।

यसैबीच, अन्य कम्पनीहरू पनि चालकविहीन सवारी सेवामा आफ्नो पकड बलियो बनाउने प्रयासमा गरेका छन् । जर्मन कम्पनी भल्सवागनले २०३५ सम्ममा विश्वभर चालकविहीन सवारीको बजार ४५० अर्ब युरो पुग्न सक्ने अनुमान गरेको छ ।

यी प्रविधिहरूमाथि सुरक्षा सम्बन्धी चासोहरू पनि बढ्दै गएका छन् । टेस्लाले भने आफ्नो प्रविधिले पैदलयात्री र साइकल यात्रीहरूका लागि सडकमा सुरक्षा बढाउने दाबी गरेको छ । तर विगतमा जनरल मोटर्सले आफ्नो क्रुज रोबोट्याक्सी परियोजना बन्द गरेको उदाहरणले देखाउँछ कि प्रविधिमा सधैं सफलता हासिल हुँदैन । यसले कहिलेकही दुर्घटना र बढ्दो प्रतिस्पर्धाले बन्द गराउँछ भन्ने देखाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : २४ बजे