१० असार २०८३, बुधबार | Thu Jun 25 2026

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई नयाँ र युगान्तकारी कामको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई नयाँ तथा युगान्तकारी (गेम चेन्जर) काम अघि बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदान–प्रदान कार्यक्रममा उनले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्र तोड्ने गरी तीव्र गतिमा काम गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन आगामी मङ्सिरभित्र सुरु गर्न, चीनमा निर्यात गर्ने लक्ष्यसहित किसानलाई व्यावसायिक भैंसीपालनतर्फ आकर्षित गर्न, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागरिक संवाद भवन निर्माण गर्न, दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रंगशाला छिट्टै निर्माण सम्पन्न गर्न तथा भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

त्यस्तै उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटको उपयोग, रेल र सेक्युरिटी प्रेस सञ्चालन, रेल्वे विस्तार, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं–तराई मधेस द्रुतमार्गजस्ता ठूला आयोजनाको काम छिटो सम्पन्न गर्न, योग–आरोग्य अभियान सञ्चालन गर्न तथा मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि निर्देशन दिए ।

‘यी प्रतिनिधिमूलक सुझाव मात्र हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस् । भदौको अन्त्यतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अघि बढौँ । मौलिक ढंगले अगाडि बढेर साँच्चै माइलस्टोन हुने खालका काम गरौँ ।’

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ मा गरिने मुख्य काम र हासिल हुने लक्ष्यबारे प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका कार्य तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  १० : ५५ बजे