कुवेतमा मेथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म १६ जना नेपाली आप्रवासी श्रमिकको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लका अनुसार, गत सातादेखि हालसम्म कुवेतका विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको ज्यान गइसकेको छ, जसमा १६ जना नेपाली र बाँकी भारतीय नागरिक रहेका छन्।
मृतकहरूको नाम, ठेगाना लगायतको विवरण भने अझै सार्वजनिक गरिएको छैन। कुवेत सरकारले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्षमा उपचाररत रहेको उल्लेख गरिएको छ।
यसैबीच, कुवेतस्थित नेपाली राजदूतावासले पनि विषाक्त मदिरा सेवनबाट भएको मृत्युमा दुःख व्यक्त गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन सबै नेपालीलाई आग्रह गरेको छ।
राजदूतावासका अनुसार, हालसम्म ३५ जना नेपाली नागरिक विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये केही गम्भीर अवस्थामा छन् भने केही सामान्य अवस्थासहित उपचारमा छन्। घटनाबारे जानकारी पाएलगत्तै राजदूत र दूतावासका अन्य कर्मचारीहरूले अस्पताल पुगेर पीडितहरूको अवस्थाबारे जानकारी लिएको पनि दूतावासले जनाएको छ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले मदिरा, लागूऔषध तथा अन्य अवैध पदार्थको बिक्री–वितरण र सेवनविरुद्ध स्थानीय प्रशासनको नियम पालना गर्न र आफूलाई सुरक्षित राख्न सबै नेपालीलाई अनुरोध गरेको छ।









