२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

यूएईमा ७ लाखभन्दा बढी नेपाली, साउन महिनामै ३२ को मृत्यु



वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब एमिरेट्स (यूएई) मा रहेका नेपाली श्रमिक समस्याग्रस्त बन्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।

यूएईस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार साउन महिनामै ३२ नेपालीको मृत्यु भएको छ । अघिल्लो वर्षको सोही महिनामा ३० नेपालीले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०८१/८२ मा ३१२ र ०८०/८१ मा २३१ नेपालीले यूएईमा ज्यान गुमाएको दूतावासले जनाएको छ । मृत्युका कारणमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र मुटुसम्बन्धी रोग रहेका छन् ।

दूतावासका अनुसार त्यहाँ हाल ७ लाखभन्दा बढी नेपाली कार्यरत छन् । तर, रोजगारीका क्रममा कानुन उल्लंघन, सीप अभाव र स्वास्थ्यसम्बन्धी कारणले धेरै नेपाली समस्यामा परेको दूतावासकी उपप्रमुख रन्जिता दाहालले जानकारी दिएकी छन् ।

दाहालका अनुसार यूएईमा नेपालीहरूलाई मुख्य समस्या मदिरा सेवन बनेको छ । काम सकेर रक्सी सेवन गरी आपसी झगडा गर्ने, कानुन उल्लंघन गर्ने र जेलमा पुग्ने घटना बढ्दै गएको छ । हाल यूएईका विभिन्न जेलमा ४७३ नेपाली रहेका छन् । अघिल्लो वर्ष यो संख्या २४२ थियो ।

उनका अनुसार सीप नसिकीकन जाने नेपाली श्रमिक धेरैजसोले दुई वर्षको सम्झौताअवधि पूरा गर्न नसकी १५–२० दिनमै वा केही महिनामै काम छोड्ने गरेका छन् । यसरी सम्झौता पूरा नगरी फर्किनेहरूले कम्पनीका सेवा–सुविधा पाउन नसक्ने र उल्टै ऋणमा डुब्ने अवस्था देखिएको उनले बताइन् ।

दूतावासले म्यानपावर कम्पनीहरूले श्रमिकलाई प्रलोभनमा पारी वास्तविकभन्दा फरक तलब देखाउने गरेको र नेपालीहरूले सम्झौतापत्र नपढी हस्ताक्षर गर्दा समस्या थपिएको जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : २७ बजे