१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एनओसी शाखामा पूरै कर्मचारी फेरियो



वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखामा लामो समयदेखि कायम रहेका कर्मचारीलाई हटाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ टोली पठाएको छ ।

स्रोतका अनुसार सानोठिमीस्थित शाखामा ७–८ वर्षदेखि कार्यरत स्थायी कर्मचारीहरूको सरुवा गरिएको छ भने भदौदेखि करारलाई पनि निष्कासन गरिएको छ । अहिले शाखामा पूरै नयाँ स्थायी कर्मचारी पठाइएको छ ।

एनओसी शाखामा घुसखोरी र नक्कली कागजातमार्फत एनओसी वितरण हुने गरेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले शाखामा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि पूरै सेट फेर्ने निर्णय गरिएको हो ।

“अनियमितता रोक्न र सुधारका लागि नयाँ टोली पठाइएको हो। विवादमा नपरेका र इमानदार कर्मचारीलाई मात्र खटाइएको छ,” मन्त्रालयका एक अधिकारीले बताए ।

विद्यार्थीले अपूर्ण कागजात पेस गर्दा कन्सल्टेन्सी र शाखाका कर्मचारी मिलेमतोमा नक्कली प्रमाणपत्र बनाइदिने र रकम असुल्ने गरिएको खुलासा भएको थियो । कम्प्युटर प्रणालीमै नक्कली योग्यतापत्र अपलोड गरेर समेत एनओसी दिने गरिएको भेटिएको छ ।

विद्यार्थीले अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपका लागि एनओसी लिन ३० हजारदेखि १ लाख रुपैयाँसम्म घुस बुझाउन बाध्य भएको पीडितहरूको गुनासो छ ।

लामो समयदेखि शाखामा जमेका कर्मचारी सरुवा गर्न आदेश दिए पनि मान्दैनथे । बरु फाइल रोकेर दबाब दिने जस्ता गतिविधि बढेपछि मन्त्रालयले कडा कदम चाल्दै निगरानी बढाएको हो ।

मन्त्रालयले विवादरहित कर्मचारी खटाएको भन्दै अब विद्यार्थीलाई सहज हुने विश्वास लिइएको छ । “नयाँ टोलीले पारदर्शी ढंगले काम गर्नेछ,” मन्त्रालयका एक अधिकारीले भने।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ०१ बजे